३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


शिक्षा मन्त्रालय र विद्यार्थी संगठनबीच कुरा मिलेन


0
Shares

काठमाडौं, वैशाख २३ । शिक्षा मन्त्रालय र १३ विद्यार्थी संगठनबीच निजी विद्यालयको शुल्क अनुगमनबारे छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष सकिएको छ ।

विहीबार बिहान मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले विद्यार्थी संगठनको माग पूरा गर्न नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।

नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले आफूहरुको माग पूरा नगरेपछि बैठक बिनानिष्कर्ष टुंग्याइएको जानकारी गराए । विद्यार्थी संगठनले गत वर्ष आफूहरुसँग गरिएको १० बुँदे सहमति कार्यान्वयनको माग राखेका थिए ।

‘गत वर्ष हामीसँग गरिएको १० बुँदे सहमति कार्यान्वयनको माग राख्दै निजी विद्यालयले बढाएको शुल्क अनुगमन गर्न भन्यौं’–उनले भने–‘तर मन्त्रालयका पदाधिकारीहरुले तत्काल अनुगमन नसकिने र केही दिनमा संयन्त्र बनाएर अनुगमन गर्ने बताए । हामीले मानेनौं ।’

शिक्षा मन्त्रालयले विद्यार्थी संगठनहरुलाई तत्काल अनुगमन रोक्न आग्रह गरेका थिए ।

यता, शिक्षा मन्त्रालयका प्रवक्त डा. हरि लम्सालले शुक्रबार विद्यार्थी संगठनसँग फेरि वार्ता गरेर अनुगमन समिति बनाइने जानकारी गराए ।

‘भोलि फेरि वार्ता गर्छाैं’–उनले भने–‘त्यसपछि विद्यार्थी संगठनहरुलाई नै राखेर अनुगमन समिति बनाएर अनुगमन गर्छौं ।’

बैठकमा सहमति हुन नसकेपछि विद्यार्थीले विहीबार पनि निजी विद्यालयको शुल्कमाथिको अनुगमनलाई निरन्तरता दिएका छन् । रासस