
अपडेटः
काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संसदबाट प्रधानमन्त्री बनेको भन्दै संसद विघटन गर्ने हल्ला निराधार भएको बताएका छन् ।
विहीबार अपराह्न संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू लोकतान्त्रिक निष्ठामा अडिग रहेको उल्लेख गर्दै लोकतान्त्रिक विधिबाट सरकार हटाउने कुराप्रति आफूलाई कुनै आपत्ति नरहेको बताए ।
आफूले उहिल्यैदेखि सहमतिको सरकार बनाउनु पर्छ भन्दै आएको भन्दै उनले धोका र षडयन्त्रको जगमा भने राष्ट्रिय सहमति बन्न नसक्ने स्पस्ट पारे ।
प्रधानमन्त्री ओलीले कसैका असन्तुष्टिहरु छन् भने छलफलबाट त्यसको समाधान खोज्न सकिने भन्दै ‘त्यसबाट देशलाई फाइदा भने हुनुपर्छ’–भने ।
संविधानको पुनर्लेखनको माग पनि केही व्यक्तिहरुले उठाएको भन्दै उनले संविधानको संशोधन हुनसक्ने तर पुनर्लेखन भने हुनै नसक्ने स्पस्ट पारे ।
प्रधानमन्त्री ओलीले नेपालमा शान्ति र स्थिरता कायम हुन नदिने चलखेल भइरहेको जिकिर गर्दै त्यसबाट बच्नु आवश्यक रहेको बताए ।
मधेस आन्दोलनका घाइतेहरुको उपचारका लागि सरकारले बजेट उपलब्ध गराइरहेको र मुद्दाहरु फिर्ताका लागि आवश्यक प्रक्रिया पनि चलिरहेको उनले बताए ।
संविधान कार्यान्वयनका लागि संवैधानिक प्रावधानबमोजिम नै कानुनहरु निर्माण भइरहेको र विभिन्न नियुक्तिहरु पनि भइरहेको उनको भनाइ थियो ।
पुनःनिर्माणसम्बन्धी विधेयक बन्दा नै पुस महिना लागिसकेको भन्दै उनले त्यसपछि बनेको पुनःनिर्माण प्राधिकरणले कामहरु अगाडि बढाइरहेको बताए ।
पीडित बस्तीहरुको सर्वेक्षण नगरी रकम दिन नपाइने सम्झौता दाताहरुसँग भएकाले त्यसका लागि १ हजार ६ सय इन्जिनियर पठाइएको जानकारी पनि उनले दिए ।
पीडितहरुको घर निर्माणका लागि दिइने रकमको पहिलो किस्ताको निकासा भइसकेको उनले जानकारी दिए ।
पौने दुई घन्टा लामो सम्बोधनकाक्रममा प्रधानमन्त्री ओलीले ‘आगलागी र खडेरीले उत्पन्न गरेको परिस्थितिप्रति पनि सरकार गम्भीर रहेको छ’–भने ।
प्रधानमन्त्री ओलीले दुबै छिमेकीसँग हार्दिकतापूर्ण सम्बन्ध चाहेको भन्दै एउटा छिमेकीसँगको सम्बन्धले अर्को रिसाउनुपर्ने कुनै कारण नभएको पनि दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्