४ असार २०८२, बुधबार | Wed Jun 18 2025


न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी


0
Shares

काठमाडौं, वैशाख २५ । पूर्वबाट स्थानीय वायुको प्रभावमा न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी आएको छ ।

उक्त वायुको प्रभावले पश्चिमी तराई भेगबाहेक देशका अधिकांश भेगमा बदली हुनाकासाथै मध्य र पूर्वका कतिपय स्थानमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पूर्वी भेगमा पूर्णबदली भएपनि बढी असर पूर्वी भेगमा देखिएको मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिए ।

‘मौसम बद्लीसँगै पूर्वका अधिकांश स्थानमा वर्षात् भएको छ, यो प्रणाली केही दिन जारी रहेपनि बीचमा ठूलो वर्षा हुने सम्भावना देखिन्न’–उनले भने ।

मौसमविद् अर्यालका अनुसार काठमाडौं उपत्यकामा शनिबार साँझपख हल्का र पश्चिमी भेगमा पनि वर्षात्को सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी धनकुटामा २८, सिमरामा १०, पोखरामा ९ तथा सबैभन्दा कम काठमाडौं र ताप्लेजुङमा १–१ मिमी वर्षा भएको छ ।

शनिबार सबैभन्दा बढी अधिकतम् तापक्रम भैरहवाको ३६.९ र नेपालगन्जको ३६.६ रहेको तथा सबैभन्दा कम जुम्लाको २१ डिग्री सेल्सियस छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ र अधिकतम तापक्रम २८.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

फाइल फोटो