४ असार २०८२, बुधबार | Thu Jun 19 2025


कात्तिक/मंसिरभित्र स्थानीय निर्वाचन, तयारी थाल्नोस् : प्रधानमन्त्री


0
Shares

काठमाडौं, वैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक/मंसिरभित्र स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयको निरीक्षण कार्यक्रमपछि वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने–‘कात्तिक/मंसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसका लागि तयारी गर्न थाल्नुहोस् ।’

यसैगरी, प्रधानमन्त्री ओलीले आगामी २०७४ माघ ७ गतेभित्रमा आमनिर्वाचन हुने पनि स्पस्ट पारेका छन् ।

सत्तासाझेदार एकीकृत नेकपा माओवादीसँग भएको ९ बुँदे सहमति सरकारका काम–कारबाहीलाई प्रभावकारी बनाउन सहयोगी हुने प्रधानमन्त्री ओलीले बताए ।

‘९ बुँदे सहमति सरकारले काम गर्ने एग्रिमेन्ट पेपर हो’–प्रधानमन्त्री ओलीले भने ।

देश संघीय संरचनामा गएकाले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवर्तन हुन प्रहरीका वरिष्ठ अधिकारीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

‘हामी संघीय ढाँचामा गएका हौं । यसलाई राष्ट्रै अर्कौ भयो भनेर बुझ्नु हुँदैन’–प्रधानमन्त्री ओलीले भने–‘संघीय प्रहरीको कार्यक्षेत्र कति–के भन्ने कुरा ऐनमा स्पस्ट हुन्छ, त्यसैअनुसार काम गर्नुपर्छ ।’

नेपाल प्रहरीले समाज र सरकारका बीचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेकामा प्रशंसा गरे ।

संक्रमणकालीन अवस्थामा समाजमा आपराधिक घटनामा बृद्धि हुने भएकाले त्यसतर्फ चनाखो हुन प्रहरीलाई प्रधानमन्त्रीले निर्देशन दिए ।

विगतमा भएका आन्दोलनमा प्रहरीले अतिरिक्त बल प्रयोग भयो भन्नु गलत भएको प्रधानमन्त्रीले बताए ।

‘केही महिनाअघि भएका आन्दोलनमा अतिरिक्त बल प्रयोग भएको छैन । बरु प्रहरीले आफू मरेर, घाइते भएर पनि संयमता अपनाएको छ ।’

देश अप्ठ्यारोमा भएकाबेला त्यसलाई सजिलोमा ल्याउने जिम्मा प्रहरीका काँधमा आएको प्रधानमन्त्री ओलीले बताए ।

नेपालमा साम्प्रदायिक आन्दोलनको बीउ छरेर द्वन्द्वमा फसाउन केही वर्षअघिदेखि नै प्रयास भइरहेकामा त्यसलाई नेपाली जनताले अस्वीकार गरेको प्रधानमन्त्री ओलीले बताए ।

‘विभिन्न द्वन्द्वका बीउले नेपालको सुरक्षा निकायलाई गाली बेइज्जती गर्ने आक्रमण गर्ने जस्ता अभ्यासहरु भए’–प्रधानमन्त्री ओलीले भने–‘तर त्यस्ता अभ्यास अहिले क्रमशः निस्तेज भएर समाज अहिले एकीकृत भइरहेको छ ।’

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीमा महिलाको संख्या बढाउन सरकार सकारात्मक भएको बताए ।

अहिले नेपाल प्रहरीमा महिलाको संख्या सात प्रतिशत भएकामा आगामी तीन वर्षभित्र १० प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

नेपाल प्रहरी भ्रष्टाचारमुक्त हुनुपर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले ‘आफ्नो मातहतका प्रहरीको नजरमा नगिर्न’ निर्देशन दिए ।

प्रहरीको संख्या बढाउनेभन्दा पनि अहिलेकै संख्या प्रविधि र क्षमतायुक्त बनाएर सानो संख्याबाट धेरै काम लिनुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र कमान्डर सेन्टरको पनि निरीक्षण गरे ।

प्रधानमन्त्रीकासाथ गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि थिए । रासस