
काठमाडौं, वैशाख २६ । आज विश्व रेडक्रस दिवस, ‘रेडक्रस सबै ठाउँमा, सबैका लागि’ भन्ने आह्वानका साथ विश्वभर यो दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ ।
यसै सन्दर्भमा नेपालका ७५ वटै जिल्लामा रहेका रेडक्रसका शाखाहरुले विभिन्न चेतनामूलक कार्यक्रम गरेका छन् ।
राजधानीमा नेपाल रेडक्रस सोसाइटीको अगुवाईमा निकालिएको ¥यालीले नगरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो । नेपालमा २०२० साल भदौ २४ गते रेडक्रस सोसाईटीको स्थापना भएको हो । सम्भावित मानवीय विपत्तिलाई रोक्न तथा आपतकालिन अवस्थामा पीडितको उद्दार र राहतमा सोसाइटीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
उता, विश्व रेडक्रस दिवसको अवसरमा ताप्लेजुङमा आज जिल्ला कारागारका कैदी बन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको आयोजनामा कारागारभित्र कार्यक्रम आयोजना गरी १११ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो ।
यसैबीच सिन्धुपाल्चोक शेर्पा महिला समाजले बौद्ध काठमाडौंमा भूकम्प पुनर्निर्माण प्रशिक्षण आयोजना गरेको छ । सिन्धुपाल्चोक जिल्लाको विभिन्न गाविसहरुका भूकम्प प्रभावितहरुका लागि सुरक्षित आवास निर्माण सम्बन्धमा चेतना जगाउन प्रशिक्षण दिइएको समाजका अध्यक्ष लन्जोम शेर्पाले बताए ।
कार्यक्रम उद्घाटन समारोहमा नेपाल बौद्ध महासंघका अध्यक्ष जिक्टोल लामा भूकम्पले मानिसलाई मार्ने नभई, आफैँले बनाएका संरचनाले मानिसको ज्यान लिने भएकाले २०७२ को भुईचालोबाट पाठ सिकेर सुरक्षित घर निर्माणमा सबै जुट्नुपर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा फुलपिङकट्टी, तातोपानी, डुगुनागढी र तेम्वाथाङ भूकम्प शिविरका एक सयभन्दा बढी भूकम्प प्रभावितहरुको सहभागिता थियो । सुरक्षित पुनर्निर्माणसम्बन्धमा नेपाल रेडक्रस सोसाइटीका सञ्चार अधिकृत पुष्पा खनालले प्रशिक्षण प्रदान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्