Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


भूकम्पपछि बारीबाटै सामुदायिक रेडियो सञ्चालन


0
Shares

मेलम्ची, वैशाख २७ । गतवर्षको भूकम्पले बारीको पाटोमा झारेको सिन्धुपाल्चोक जिल्लाको सामुदायिक रेडियो मेलम्ची बारीको पाटोबाट अझै उठ्न सकेको छैन ।

रेडियोको स्टेसन रहेको घर भत्किएपछि विभिन्न ठाउँमा टालेको त्रिपाललाई नै छानो बनाएको रेडियोको आर्थिक अवस्था कमजोर भएका कारण उठ्न नसकेको हो ।

भूकम्पले रेडियोको स्टुडियोमा रहेको मिक्सचरलगायतका सामान तहसनहस भएको थियो । विभिन्न समस्या झेलेको भए पनि समुदायमा छिटो छरितो सूचना प्रवाह गर्ने उद्देश्यले भूकम्प गएको चौथो दिन वैशाख १५ गते रेडियो प्रसारणका लागि चाहिने मिक्सचर भाडामा लिएर बारीको पाटोबाट प्रसारण गर्न थालेको थियो भने भूकम्प गएको एक वर्ष बित्दासमेत रेडियो बारीको पाटोबाटै नै चलिरहेको छ ।

अस्थायी पालबाट नै सञ्चालन भइरहेको रेडियोले बारीकोे पाटोबाट नै समाचार तथा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ । रेडियोको भवन नभएर खुला ठाउँबाट सञ्चालन गर्दा कहिलेकाहीँ साना केटाकेटी खेल्दै पालभित्र पस्छन् भने घरपालुवा जनावर कुखुरा, गाई, भैँसी तथा चराचुरुङ्गी कराउने, केटाकेटीले हल्ला गर्ने घटनाले प्रसारणमा समस्या हुने गरेको रेडियोका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए ।

विभिन्न समस्या झेल्दै कार्यक्रम तथा समाचार प्रस्तुत गर्ने गरेको तथा अस्थायी पालबाट रेडियो सञ्चालन गर्दा बालबच्चा तथा विभिन्न जनावरले दुःख दिने गरेकाले भवन बनाउन सहयोग गरिदिन अपिल गरेको सुवेदीले बताए ।

भूकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकको दुवाचौर गाविस–५ स्थित रेडियो मेलम्ची आफैँ भूकम्पको चपेटामा परे पनि भूकम्पले छेदविच्छेद पारेको आम मानिसका मनलाई जोड्ने काम भने निरन्तर गरिरहेको छ ।

उद्धार र राहतदेखि हाल पुनःनिर्माणको चरणसम्म भूकम्प तथा हालसम्म खुला आकासमुनि मकैबारीमै स्टुडियो बनाई रेडियो सञ्चालित भइरहेको छ ।

स्टुडियो बजारमा राखेर स्टेसनसँग लिंक गर्ने सोच बनाएका भए पनि हालसम्म सञ्चालन गर्न नसकिएको भन्दै सुवेदी भन्छन्, ‘वर्षा सुरु हुन लागिसक्योे टेन्टभित्र पानी पस्ने तथा टेन्टमा पानीको आवाजले निकै समस्या निम्ताउने हुँदा स्टुडियो चलाउन गाह्रो छ ।’

अब स्थानीय निकाय र विभिन्न सङ्घसंस्थाको सहयोगमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं ३ को एकमात्र सामुदायिक रेडियोको भवन निर्माण गर्नका लागि पहल गरिने रेडियोको व्यवस्थापन समितिले जनाएको छ । (रासस)

Skip This