१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


प्रचण्डले पापको प्रायश्चित गर्नुपर्छ : नारायणमान विजुक्छे


0
Shares

काठमाडौं, बैशाख २८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका हात निर्दोश नागरिकका रगतले मुछिएका कारण पापको प्रायश्चित गर्नुपर्ने बताएका छन् ।

उनले प्रचण्डसंग कुनै अडान नभएको र आफ्नो विवेकले निर्णय नगर्ने भएकाले कुन बेला के गर्छन् र के बोल्छन् पत्तो नभएको बताए ।

विजुक्छेले नेपाली कम्युनिष्ट राजनीतिका लागि प्रचण्ड कसैको गोटी मात्र भएको र उनका कारण कम्युनिष्ट आन्दोलन नामेट हुने दावी गरे ।

विजुक्छेले दश वर्षे जनयुद्धमा आठ वर्षसम्म प्रचण्ड भारतमा वसेर भारतीयको सल्लाहमा जनयुद्ध लडेको आरोप लगाउँदै उनी भारतको दलाल भएको दावी गरे । नेपालको राजनीतिका सबै जसो दलहरुमा भारतीय एजेन्टहरुको प्रभाव रहेको विजुक्छेले बताएका छन् ।

केपी शर्मा ओलीको सरकार ढाल्ने र नढाल्ने योजना बनाउने प्रचण्ड  निमित्त पात्र मात्र भएको विजुक्छेले बताए । सरकार ढाल्ने र जोगाउने निर्णय दिल्लीबाटै हुने उनको तर्क छ ।

विजुक्छेले देशका हरेक निकायमा भ्रष्टाचारमात्रै मौलाएको  बताउँदै काठमाडौं महानगरपालिका देशकै भ्रष्टाचारको अखडा भएको आरोप लगाए ।

यसैले पनि अन्य नगरपालिकाका कर्मचारीहरु काठमाडौं महानगरपालिकामा जान चाहेको उनले खुलासा गरेका छन् । मंगलवार ईमेज एफएमसंग कुरा गर्दै विजुक्छेले राजनीतिसंगै देश गम्भीर अफ्ठयारोमा परेको बताएका छन ।