१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


कांग्रेसको विरोध, एमालेको स्वागत् ! (भिडियोसहित)


0
Shares

काठमाडौं, वैशाख २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नीति तथा कार्यक्रममा झुटो आश्वासन दिएर सरकार सस्तो लोकप्रियता कमाउने बाटोमा लागेको आरोप लगाएका छन् ।

व्यवस्थापिका–संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको बुधबारको छलफलमा सहभागी कांग्रेस सांसदहरुले नीति तथा कार्यक्रमलाई ‘झूटको पुलिन्दा’ भनी टिप्पणी गरेका हुन् ।

बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले भूकम्पपीडित, अग्निपीडित र बाढीपीडित जनतालाई राहत दिनेतर्फ सरकारले प्रयास नै नगरेको आरोप लगाए ।

सत्तापक्ष एमालेका सांसदले भने सरकारको नीति तथा कार्यक्रम समय सान्दर्भिक र वस्तुनिष्ठ भन्दै प्रतिरक्षा गरेका थिए ।

एमाले सांसद अष्टलक्ष्मी शाक्यले लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचनको घोषणा हुनु, आगामी पाँच वर्षभित्र भूकम्पप्रभावित सबै संरचनाको निर्माण गर्ने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको भन्दै स्वागत् गरिन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल जारी छ ।

मंगलबारदेखि सुरु भएको छलफलमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाऊ गर्दै समर्थन गरेका छन् भने प्रतिपक्षी सांसदले कार्यान्वयन हुनै नसक्ने भन्दै आलोचना गरेका छन् ।

आइतबार संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रममा उठेको प्रश्नको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।

बुधबारको संसद बैठकमा प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, कानुनमन्त्री अग्नि खरेलले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र सामान्य प्रशासनमन्त्री रेखा शर्माले लोकसेवा आयोगको प्रतिवेदन पेश गरेका छन् ।

भिडियो हेर्नुहोस्