काठमाडौं, बैशाख ३० । यस वर्षको बसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण नेपाली टोलीले सफल पारेका छन् ।
नेपाली नौं जना शेर्पा आरोहीले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको सफल आरोहण गरेका हुन् । बुधबार साँझ ५ बजेर ५ मिनेट जाँदा दक्षिण पश्चिम मोहडाबाट ९ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।
सगरमाथा आरोहण गर्नेमा ग्याल्जेन शेर्पा, ग्याल्जेन दोर्जे शेर्पा, आङपेम्वा शेर्पा, मिङमाछिरिङ शेर्पा, शेरा ग्याल्जेन शेर्पा, पासाङ तेन्जिङ, मिङ्मा शेर्पा, मिङ्मा छिरिङ शेर्पा र लाक्पा छिरिङ शेर्पा रहेका छन् ।
प्राकृतिक विपत्तिका कारण आरोहण रोकिएको दुई वर्षपछि यो वर्ष पुनः सगरमाथाको आरोहण सुरु भएको हो ।
सगरमाथा आधार शिविर नजिक गएको हिमपहिरो र गतवर्षको भूकम्पका कारण यसअघि सन् २०१४ र २०१५ मा सगरमाथा आरोहण बन्द भएको थियो । सन् २०१६ को यो मौसमको सफल आरोहणसँगै सगरमाथा आरोहण पुनः सुरु भएको छ ।




प्रतिक्रिया दिनुहोस्