Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


राजमार्गमै बसलाई ३० किलोमिटर पार गर्न ४ घण्टा !


0
Shares

चितवन, वैशाख ३१ । बिहीबार बिहान पाँचै बजे पोखराबाट भैरहवाका लागि छुटेको लु१ख ७२०१ नम्बरको यात्रुबस करिब साय किलोमिटर पार गरेर मुग्लिनबजार आइपुग्दा सवा सात बजेको थियो ।

त्यही बसले मुग्लिनबाट करिब ३० किलोमिटर टाढा रामनगरसम्मको दुरी पार गर्दा सवा ११ बज्यो । राजमार्गको यात्रा जम्मा ३० किलोमिटर पार गर्न झण्डै चार घण्टा लाग्नुको प्रमुख कारण थियो– सवारी जाम ।

‘तीन घण्टासम्म जाममा परियो, अझै बढी कुर्नुपर्ने हो कि भन्ने पीर भयो,’ बसका चालक नेत्रलाल थारुले अनुभव सुनाए, ‘यो त अझ कम हो ।’

बिहानपख पानी परेकाले उनी अझ लामो जाममा परिने हो कि भन्ने त्रासमा थिए । यो रुटमा १० वर्षदेखि गाडी चलाउँदै आएका थारु सामान्य अवस्थामा एक घण्टामा बाटो पार गर्थे । यो खण्डमा पाँच घण्टाभन्दा पनि लामो समय जाममा परेको अनुभव छ उनीसँग ।

जामको सास्ती नेत्रलालजस्ता चालकलाई मात्र होइन, राजधानीलाई बाहिरका जिल्लासँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार सुरु भएसँगै यात्रुले अत्यासलाग्दो जाम सामना गर्नुपरिरहेको छ ।

उक्त सडकखण्ड बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म घोषित रुपमै बन्द हुन्छ, निर्माणकार्यका लागि । त्यसबाहेक अन्य समयमा पनि त्यहाँ यात्रा सहज छैन । –नागरिक दैनिकबाट