
इस्लामावाद, वैशाख २९ । पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर शहरस्थित एउटा पाँचतारे होटलमा बन्दुकधारीले आक्रमण गर्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
होटल पर्ल कन्टिनेन्टलमा प्रवेश गरेका पृथकतावादी संगठन बलोचिस्तान लिबरेसन आर्मीका तीन बन्दुकधारीले आक्रमण गरेका हुन् । बन्दुकधारीलाई रोक्न खोज्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।
रमजानको बिदाका कारण होटलमा पाहुना भने नभएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । कर्मचारी पनि कम भएका कारण ठूलो मानवीय क्षति नभएको बताइएको छ ।
बन्दुधकारी भित्र प्रवेश गरेपछि सुरक्षाकर्मीले होटललाई घेरा हालेर नियन्त्रणमा लिएका छन् । घटनाको जिम्मेवारी लिवरेसन आर्मी संगठनले लिएको छ । सामाजिक सञ्जालमार्फत सो संगठनले चीन र विदेशीलाई निशाना बनाउन आक्रमण गरिएको जनाएको छ ।
उसले चीन र पाकिस्तानमा अरु आक्रमण गर्ने चेतावनी पनि दिएको छ ।
बलोचिस्तानको स्थानीय पृथकतावादी संगठनले चिनियाँ गतिविधिको विरोध गर्दै आएको छ । सो संगठनले गत महिना पनि ग्वादरमा आक्रमण गरी ११ सुरक्षाकर्मीसहित १४ जनाको हत्या गरेको थियो ।
पाकिस्तानको सबैभन्दा गरिब र कम विकसित प्रान्त बलुचिस्तानमा लामो समयदेखि पृथकतावादी अभियान जारी छ । ग्वादर चीन र पाकिस्तानबीचको इकोनोमिक करिडोरको मुख्य केन्द्र हा, जहाँ चीनका कयौं इन्जिनियर र कर्मचारी रहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्