
काठमाडौं, जेठ २ । संघीय गठबन्धनले संविधानप्रति असन्तुष्टि जनाउँदै आइतबार गरेको सिंहदरवार घेराउ कार्यक्रमलाई पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समर्थन गरेका छन् ।
उनले विज्ञप्तिमा नेपाली जनताको लामो संघर्षपपछि संविधानसभाबाट जारी नेपालको संविधान २०७२ महत्वपूर्ण उपलब्धि हुँदाहुँदै पनि यो उत्पीडित समुदायको पहिचान र अधिकारको सवालमा अपुरो छ भनेर नयाँ शक्ति नेपालले निरन्तर आफ्नो धारणा सार्वजनिक गर्दै आएको स्मरण गराएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘संविधानका कतिपय प्रावधानप्रति असहमति जनाई पहिचान र अधिकारको सवालमा मधेसी र आदिवासी जनजाति समुदायले उठाएका मागहरु जायज छन्, त्यसैले आन्दोलनरत समुदायको जायज मागप्रति नयाँ शक्ति नेपाल समर्थन गर्दछ, साथै उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गर्दछ ।’
संविधान जारी भएर यतिका समय हुँदा पनि उत्पीडित जनताले संविधानलाई आत्मसात गर्न नसक्नु साथै सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु धेरै दुःखद रहेको उल्लेख गर्दै उनले मुलुकलाई लामो समयसम्म यस्तो अवस्थामा राख्नु गम्भीर कुरा भएको जनाएका छन् । ‘त्यसैले आन्दोलनरत समुदायको माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प छैन,’ डा. भट्टराईले विज्ञप्तिमा भनेका छन् ।
उल्लेखनीय छ, संविधानप्रति असहमति जनाउँदै आएको मधेसी मोर्चा तथा आदिवासी जनजातिसहितको संघीय गठबन्धनले आइतबार सिंहदरवार घेराउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्