
हुम्ला, जेठ २ । हुम्लालाई सडक संजालसँग जोड्ने प्रयास पुरा हुँदै गर्दा त्यस क्षेत्रका बासिन्दाहरुमा खुशी छाएको छ ।
कर्णालीको तीरैतीर हुम्लाको हिल्सासम्म पुग्ने हुम्ला करिडोरको निर्माणले त्यस क्षेत्रका सर्वसाधारणको दैनिकीमा पनि सकारात्मक प्रभाव पर्नेछ ।
हुम्ला करिडोरको निर्माण यसै आर्थिक वर्षमा सक्ने लक्ष्य लिइएको छ । नेपाली सेनाले बनाइरहको यो सडकको निर्माण सम्पन्न भएपछि सडक संजालले नछोएको जिल्ला डोल्पामात्र हुनेछ ।
कर्णाली राजमार्ग अन्तर्गत कालिकोट–जुम्ला सडकखण्डको जितेबजारबाट हुम्ला करिडोर निर्माणको काम भईरहेको छ । सडक निर्माणले त्यस क्षेत्रमा आर्थिक विकासको सम्भावनाको ढोका खोल्ने अपेक्षा स्थानीयकोे छ ।
अहिले यो सडकमा ट्याक्टरमात्र संचालनमा छन् । कर्णाली नदीमा भएको फेरीबाट सडक निर्माणका लागि इन्धन पुर्याउन ट्याक्टर संचालन गरिएको हो । तर खच्चडलाई भारी बोकाउनेहरु पनि खच्चड हिंड्नका लागि बाटो सहज भएको भन्दै खुशी छन् ।
कडा चट्टानलाई फोडेर बनाइएको यो सडक आसपासका क्षेत्रमा अहिले बजार विकास हुँदै छन् । निकै ठूलो जोखिम मोलेर पैदल यात्रा गर्नुपर्ने बाध्यता हट्नै लागेकोमा स्थानीयबासिन्दाले ठूलो राहतको महसुस गरेका छन् ।
विकासको पहिलो आधार भनेको सडक नै हो । सडक पुगेपछि सबै प्रकारका विकासका ढोका खुल्छन् । आशा गरौं, सडक संजालसँग जोडिएपछि हुम्लामा पनि विकासको ढोका खुल्नेछ । अनि कर्णाली क्षेत्रमा बनेका सडकहरु निकै जोखिमपूर्ण हुने अवस्थाको अन्त्य गर्न सरकारले पनि पर्याप्त ध्यान दिनेछ ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस्