
काठमाडौं, जेठ ४ । पर्सा लखनपुर–४ का मथुरा साहकी छोरी सुनिताको बिहे जिल्लाकै महुवन गाविस–३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते गर्ने तय भएको थियो ।
बिहेमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पूरा गरिसकेका थिए । जन्तीका लागि बेहुलीको घरमा खानाका परिकार पनि पाकिसकेका थिए । तर राति अबेरसम्म कुर्दा पनि न जन्ती आए, न बेहुला नै ।
दाइजोमा जग्गा नपाएको भन्दै बेहुला जन्ती लिएर नगएका हुन् । यसले गर्दा सुनिता र हरिशंकरको बिहे नै भाँडियो ।
बेहुली पक्षले बेहुलालार्इ दाइजोमा नगद ५० हजार र नम्बरी तीन कठ्ठा जग्गा दिने शर्तमा सुनिता र हरिशंकरको बिहे तय भएको थियो ।
दाइजोमा कबुल गरिएअनुसार बेहुलीका बुबा मथुराले बेहुलाका बुबा गणेशलार्इ नगद ५० हजार रुपैयाँ बिवाहको मितिभन्दा एक साता अघि नै बुझाइसकेका थिए । बेहुलीका बुवाले नम्बरी जग्गा बैंकमा धितो राखिएका कारण आफ्नो नाममा मोही रहेको पाँच कठ्ठा १० धुर जग्गा दाइजोमा दिन्छु भनेर बेहुलाका बुवासमक्ष प्रस्ताव राखे । तर मथुराको प्रस्ताव गणेशले अस्वीकार गर्दै दाइजोमा नम्बरी जग्गा नै चाहिने अडान लिए ।
नम्बरी जग्गा नपाएपछि उनले वैशाख १४ गते बेहुलीका घरमा लैजानुपर्ने बिहेको सगुन पनि लगेनन् । सगुन नआएपछि चिन्तित बेहुलीका बुबाले बैशाख १५ गते जिल्ला मालपोत कार्यालयमा गएर मोहीको पाँच कठ्ठा १० धुर जग्गा छोरीको नाममा गरिदिए ।
छोरीको नाममा गरिएको मोहीको जग्गाको कागजात सहित मथुराले बैशाख १६ गते आफना एकजना आफन्तलाइ बेहुलाको घरमा पठाए । तर बेहुलाका बुबा गणेशले उल्टै हप्काएर पठाइदिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्