६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


गिद्ध बचाउ अभियानमा गोविन्द


0
Shares

गणेश बानियाँ-
जाजरकोट, जेठ ४ । जाजरकोट जिल्लाका उत्तरपूर्वी गाविसहरुका भिरमा २६ भन्दा बढी गिद्धहरुका गुँड यो बर्ष भेटिएका छन् । विश्वकै लोपोन्मुख सुन गिद्धको एउटा चल्लासहितको गुँड, हाडे गिद्धको एउटा चल्ला सहितको गुँड भेटिएका हुन् ।

जिल्ला पशु सेवा कार्यालय जाजरकोटमा कार्यरत पशुस्वास्थ्य प्राविधिक ४५ वर्षीय गोविन्दबहादुर सिंह गिद्ध संरक्षण अभियानमा लागेका छन् । उनी जाजरकोट जिल्लाको सक्ला गाविसको पशु सेवा केन्द्रमा कार्यरत छन् ।

उनले हालसम्म एक्लै २६ भन्दा बढी विभिन्न जातका गिद्धका गुँडहरु भेटाएका छन् भने कार्यालय समयमा सेवाग्राही नआएको बेला एक्लै भिर पाखाहरुमा गिद्धको खोजीमा जाने गर्दछन् । कार्यालय समय बाहेक बिदाको दिन उनी गिद्ध संरक्षण र गिद्धको जात, बास स्थान, गुँ र गिद्ध लोप भएमा प्राकृतिक रुपमा हुने बेफाइदाका कुराहरु लिएर कृषक, गाउँ–गाउँमा रहेका विद्यालयका भाईबहिनी र अन्य गाउँ समाजमा रहेका ब्यक्तिसँग भलाकुसारी गरी घण्टौं समय बिताएका हुन्छन् ।

उनी हरेक महिना बिदाको दिन पारेर ठुला ठुला भिरका चट्टान, ओडार र ठुल्ठुला रुखहरुमा गिद्धका नयाँ÷पुराना गुँडको खोजीमा एक्लै जङ्गलमा हिड्ने गरेका छन् ।

हालसम्म उनले प्राकृतिकका कुचिकार मानिने हिमाली गिद्धका गुँड सक्ला गाविस मा ६ वटा, नायवडा गाविसमा ३ वटा, लँह गाविसमा ३ र विश्वको लोपोन्मुख सुन गिद्धको लहँ गाविसमा एउटा, रग्दा गाविसमा अहिले सम्मको सबैभन्दा बढी ११ वटा हिमाली गिद्ध र एउटा हाडे गिद्धको गुँड समेत जम्मा ३ वटा गरी गाविसमा मात्र २६ वटा गुँड यो बर्ष भेट्टाएका छन् । जाजरकोट जिल्लाका धेरै स्थानहरुमा विभिन्न जातका गिद्धको सयौंको संख्याका बासस्थान रहेको कुरा अध्ययनबाट आफुले पाएको सिंहले बताए ।

अभियानका क्रममा उनले विष भएको सिनो खाएर जिल्लाको २ वटा गाविसमा मात्र १० वटा हिमाली गिद्ध मरेको फेला पारेका छन् ।

एउटा हिमाली गिद्ध विषादीको कारणले रुकुमको गराइला गाविसको छेपारेमा बिरामी भएर भेरी नदीको किनारमा अन्तिम अवस्थामा भेटाएर उनले १५ किलोमिटर माथि जिपको छतमा हालर ल्याइ औषधी गरी निको पारेर छोडेका छन् ।

यसरी दैनिक अभियानमा लाग्ने सिंहले अहिलेसम्म कसैको सहयोग नलिइ अभियान संचालन गरेका छन् । राष्ट्रिय पक्षी संरक्षण संघले २०७० सालमा जाजरकोट जिल्लामा गिद्धको अध्ययन गर्ने क्रममा गिद्धको बारेमा महत्व बुझाएकोले आफूले गिद्ध बचाउ अभियान शुरु गरेको उनको भनाई रहेको छ ।

गिद्ध माँसहारी चरा समूह अन्तर्गत पर्ने सिनोमात्र खाने, दक्षिण एसियामा पाइने ९ प्रजातिका गिद्ध नेपालमा पाइन्छन् भने जाजरकोट जिल्लाको उत्तर भेगमा ४ जातिका गिद्ध र बासस्थान गुँड पाइएका छन् ।

गिद्धले मरेका बन्यजन्तु, घरपालुवा जन्तुको सिनो खाइदिनाले खानेपानी मुहान खोलामा फोहर हुन र दुर्गन्धबाट बचाई स्वस्थ्य वातावरण बनाउनका साथै सिनोबाट विभिन्न किसिमका सरुवा महामारी रोगबाट बचाई पर्यावरण सन्तुलन राख्न महत्वपुर्ण भूमिका खेल्दछ ।