६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


नेपालका लागि सामान बोकेको चिनियाँ रेल सिगात्से आइपुग्यो


0
Shares

काठमाडौं, जेठ ५ । नेपालका लागि सामान बोकेर चिनियाँ रेल नेपालतर्फको अन्तिम बिन्दू सिगात्से आइपुगेको छ । रेलमा पठाइएको सामान लिन नेपाली ट्रक त्यहाँ पुगेका छन् ।

गत बुधबार सामान बोकेर हिडेकोे ७०११ नम्बरको रेलमा पठाइएको सामान लिन नेपाली ट्रक तिब्बतको सिगात्से पुगेको चिनियाँ समाचार संस्था पिपुल्स डेलीले जनाएको छ ।

डेलीले चिनियाँ लरीबाट नेपाली ट्रकमा सामान हाल्दै गरिएको तस्वीर पनि सार्वजनिक गरेको छ । सिगात्सेसम्म मात्र रेलमार्ग भएकाले अब त्यहाँदेखि सडकमार्ग हुँदै ति सामान बोकेका ट्रक केरुङ–रसुवागढी नाकाहुँदै काठमाडौं आउने छन् ।

लान्झाउदेखि सिगात्सेसम्मको २ हजार ४ सय ३१ किलोमिटर पार गरेर रेल सिगात्से आइपुगेको हो । त्यहाँबाट केरुङ नाकासम्म ट्रक आइपुग्न ५ सय ६४ किलोमिटर दूरी पार गर्नुपर्छ । त्यहाँबाट काठमाडौं आइपुग्न अरु १ सय ६० किलोमिटर पार गर्नुपर्ने हुन्छ ।

रेलवे कन्टेनर कर्पोरेसनका उपप्रबन्धकका अनुसार ४३ वटा घरायसी सामान र ८६ कार्गो कन्टेनर केरुङ नाका आइपुगेका हुन् । चिनियाँ सञ्चार माध्यमका अनुसार यो रुटबाट सामान काठमाडौं पुग्न समुद्री रुटभन्दा ३५ दिन कम लाग्छ ।

यसअघि नियमित रुपमा चल्ने रेलका डिब्बा बुक गरेर सामान ल्याउनुपर्दा सामान कहिले आइपुग्छ भन्ने यकिन हुँदैनथ्यो ।

तर अब नेपालतर्फ आउने सामान बोक्ने डिब्बा निश्चित भएको छ । यसले सामान छिटो, भरपर्दो र सुरक्षित तरिकाले आयात गर्न सकिने छ ।

जहाजबाट भन्दा रेलमार्ग छिटो र ढुवानी लागत पनि कम लाग्ने भएकाले यसले दुई देशबीच व्यापार गर्न सहज हुने बताइएको छ ।

गत महिना प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच भएको पारवाहन सम्झौता अनुसार रेल सेवा शुरु भएको हो ।

रेल सेवाले चीनका विभिन्न प्रान्तको दक्षिण एशियाका मुलुकसँग व्यापारिकसम्बन्ध विस्तार गर्न मद्दत पुग्ने विश्वास चिनियाँ अधिकारीहरुको छ ।