काठमाडौं, वैशाख २७ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई शुक्रबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको छ ।
उक्त समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाललाई शुक्रबार अनामनगरमा भएको एक कार्यक्रममा सरिक भएका बेला पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
उनकाअनुसार ढकाल चन्दा आतंकमा सक्रिय हुँदै आएका छन् ।
विभिन्न विद्यार्थी संगठनको कार्यक्रममा सहभागी भइ निस्कनेक्रममा पक्राउ गरिएको हो ।
यसअघि, सरकारले विप्लव समूहको नेकपाका गतिविधि विध्वंसात्मक रहेको भन्दै उसका गतिविधिमा रोक लगाउने निर्णय गरेको थियो ।
महानगरीय प्रहरी परिसरकाअनुसार काठमाडौं जिल्लाबाट अहिलेसम्म विप्लव समूहका ४३ जनालाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याइएको छ ।
देशभर गरेर कुल ३४३ जना विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परिसकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्