
काठमाडौं, जेठ ६ । काठमाडौं उपत्यका विकास प्राधिकरणले चावहिल–साँखु सडक २२ मिटर चौडा पार्ने योजना अघि सार्यो । त्यसका लागि सडक मिचेर बनाइएका संरचना भत्काउन ठेक्का पनि लगायो तर लामो समय बित्दा पनि काम सुरु भएको छैन ।
यसको एउटै कारण हो– त्यस क्षेत्रका सांसद सडक विस्तारको विपक्षमा उभिनु । स्थानीयको दबाबमा सांसदले नै अवरोध गरेपछि ठेक्का लगाइएको काम बीचमै अलपत्र परेको हो ।
त्रिपुरेश्वर–नागढुंगा सडकमा पनि यही समस्या देखिएको छ । मापदण्ड विपरीत सडक मिचेर बनाइएका संरचना भत्काउन सांसद र नेताको तीव्र अवरोध छ । यतिसम्म कि प्राधिकरणले कालीमाटी–सोल्टीमोड खण्डमा भत्काउनु पर्ने संरचनामा चिनोसमेत लगाउन सकेको छैन । उक्त सडकको अन्य खण्डमा पनि एक वर्ष ढिला गरी चिनो लगाइएको छ ।
प्राधिकरणका अनुसार केही दिनअघि काठमाडौं क्षेत्र नम्बर ३ का सांसद रामेश्वर फुयाँल र अम्बिका बस्नेत स्थानीय बासिन्दा बटुलेर प्राधिकरण पुगेका थिए । करिब २ सय जनाको उक्त समूहले प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीलाई भेटेर चावहिलदेखि जोरपाटीसम्मको सडक विस्तार नगर्न दबाब दियो । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्