
काठमाडौं, जेठ ६ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन विहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
२५६०औं बुद्धजयन्तीका अवसरमा गरिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
सम्मेलनमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्धान गरी ४ सयभन्दा बढी सहभागी छन् ।
‘भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराकासाथ सुरु भएको दुईदिने सम्मेलनमा बौद्ध दर्शनसँग सम्बन्धित विभिन्न कार्यपत्र प्रस्तुत् गरिँदैछ ।
मूल गोष्ठीमा निस्किएको निष्कर्ष बुद्धजयन्तीका दिन जेठ ८ गते लुम्बिनीमा घोषणापत्रकारुपमा जारी गरिने छ । जसमा अन्तर्राष्ट्रियस्तरको संयन्त्र निर्माणसहित कार्ययोजना रहने छ ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सिद्धार्थ गौतमको जन्मस्थल र बौद्धधर्ममा देखिएका विभिन्न भ्रम चिर्न सम्मेलन महत्वपूर्ण हुने बताए ।
उनले सम्पूर्ण धर्मावलम्बीको आस्थाको केन्द्र रहेको लुम्बिनीलाई धार्मिक र पर्यटकीय केन्द्रकोरुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको स्पस्ट पारे ।
बुद्ध एसियाका लागिमात्र नभएर सम्पूर्ण विश्वकै ज्योतिपुन्ज भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले बुद्धको सन्देशले विश्वमा व्याप्त हिंसाको बाटोलाई अन्त्य गरी अहिंसा, एक–आपसमा सहयोग र भाइचारालाई कायम राख्ने विश्वास व्यक्त गरे ।
उनले नयाँ सविधानले मुलुक आर्थिक समृद्धिको बाटोमा लागेको भन्दै सरकारको लक्ष्य पूरा गराउन सम्बन्धित सबैलाई सहयोग गर्न आग्रह पनि गरे ।
कार्यक्रममा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले गौतमबुद्धले दिएको सन्देशलाई विश्वव्यापीरुपमा प्रचार गर्नुपर्नेमा जोड दिए ।
बुद्ध एसोसिएसन अफ चाइनाका उपाध्यक्ष एनइन सुनले सम्मेलनको सफलताको कामना गरे । सम्मेलन शुक्रबारसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्