६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


प्रतिमा बनाउने होड : कतै लसुनको, कतै भेँडाको प्रतिमा (भिडियो)


0
Shares

धनकुटा, जेठ ७ । पूर्वी पहाडी जिल्लामा आफ्नो ठाउँको नामलाई चिनाउन र प्रचारप्रसार गर्ने उद्देश्यले विभिन्न प्रतिमा र स्मारक बनाउने क्रम बढ्दै गएको छ । पर्यटक प्रवर्द्धनका लागि पनि यस्ता प्रतिमा र स्मारक बनाउने क्रम बढेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न तथा ऐतिहासिक एवं ठाँउ विशेषको महत्व झल्काउन पूर्वी पहाडी जिल्लाहरुमा स्मारक र मुर्तिहरु निर्माण गर्ने क्रम बढ्दै गएको हो ।

धनकुटा नगरपालिकाको ऐतिहासिक टुँडिखेलमा फुटबलको स्मारक बनाईएको छ । जहाँ अधिकांश समय फुटबलका स्थानीय तथा राष्ट्रिय प्रतियोगिताहरु हुने गरेको छ ।

यसैगरी धनकुटा नगरपालिका वडा नं ६ मा रहेको लहरे चौतारामा दुईवटा ढुंगाहरुमा गणेश, महाकाली तथा साईबाबाको मुर्तिहरु निर्माण गरिएको छ । यता, तोङ्गवा र सुकुटीका लागि प्रख्यात नगरपालिका क्षेत्रभित्रकै हिले बजारमा तोङ्गवाको प्रतिमा सातवर्ष अघि नै निर्माण गरिएको छ ।

पूर्वको प्रसिद्ध पर्यटकीय स्थल भेंटेटारमा भ्युटावरसँगै भेंडाको प्रतिमुर्ति निर्माण गरिने भएको छ । यसअघि भेंडेटारमा विशाल शंखको आकारमा शंखेश्वर महादेवको मुर्ति निर्माण गरिएको थियो ।

राजारानीमा प्राकृतिक रुपमा रहेको विशाल ढुंगामा नागको प्रतिमा कुँदिएको छ । यस्ता प्रतिमा तथा स्मारकले आन्तरिक तथा बाह्य पर्यटक बढाउन मद्दत पुगेको स्थानीयको बुुझाई छ ।

धनकुटामा मात्र नभई तेह्रथुम, भोजपुर, ताप्लेजुङ र संखुवासभा समेत यस्ता प्रतिमा निर्माणमा स्थानीय लागिपरेका छन् । लालिगुराँसको राजधानी टिएमजे क्षेत्रको प्रवेसद्वार तेह्रथुमको बसन्तपुरमा गुराँसको प्रतिमा निर्माण गरिएको छ । यता, तेह्रथुमकै लसुनेमा लसुनको प्रतिमा स्थापना गरिएको छ भने भोजपुरको टक्सारमा करुवाको प्रतिमा स्थापना गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिकसँगै यस्ता कृत्रिम सुन्दरतामा समेत चासो राख्ने भएकाले पछिल्लो समय मुर्ति, प्रतिमा तथा स्मारक बनाउने क्रम बढ्दै गएको सर्वसाधारण बताउँछन् ।

स्मारकमात्र नभई बिभिन्न ब्यक्तिको सालिक निर्माण गर्न पनि पूर्वी जिल्ला अगाडी देखिएको छ । धनकुटाको भेडेटारमा लिम्बु भाषाका अध्ययता एवं इतिहासविद इमानसिंह चेम्जोङ्गको सालिक निर्माण गरिएको छ भने छिन्ताङ्गमा २०३६ सालको छिन्ताङ्ग हत्या काण्डका शहीदका अर्धकदको सालिक बनाइएको छ ।

यस्तै धनकुटा बजार क्षेत्रमा भीम नारायण श्रेष्ठ तथा जननेता मदन भण्डारी सालिक बनाइएको छ । यता, संखुवासभामा लक्ष्मी प्रसाद देवकोटा र भानुभक्त आचार्यको सालिक निर्माण गरिएको छ । तेह्रथुममा शहीद नेत्र प्रसाद गुरागाई र फाल्गुनन्दको प्रतिमा निर्माणको चरणमा रहेका छन् ।