
दाङ, जेठ ७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् ।
रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन हुने बताए ।
संविधानसभाबाट बनाइएको संविधान परिवर्तनीय भएको जिकिर गर्दै उनले विवादित विषयलाई जनताले टुङ्गो लगाउन पाउनुपर्ने बताए ।
उनले प्रश्न गरे, ‘८० प्रतिशत हिन्दू भएको देशलाई धर्मनिरपेक्ष कसरी घोषणा गर्न सकिन्छ ?’
जनताको आकांक्षालाई समयमै सम्बोधन नगरे यसले भविष्यमा द्वन्द्व निम्त्याउन सक्ने उनको भनाई थियो । उनले भने, ‘यसलाई समयमै जनमत सङ्ग्रह वा जनताको भावनाअनुसार सच्याउनु पर्छ ।’
उनले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबीसमेत गरे । सरकार परिवर्तनमा कांग्रेसले भूमिका निर्वाह गरिरहनु नपर्ने प्रष्ट पार्दै उनले भने, ‘यो सरकार आफ्नै कारणले ढल्छ ।’
प्रतिक्रिया दिनुहोस्