
काठमाडौँ, जेठ ९ । आफूलाई दृष्टिविहीन देखेर गाडीले नरोकिदिँदा प्रा गोविन्द आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाउन आउन सधैँजसो ढिला हुन्छ ।
“म रत्नराज्यमा पढाउन दैनिक जसो कीर्तिपुरबाट आउनुपर्छ, तर त्यहाँबाट आउँदा पैसा तिर्दा पनि मलाई गाडीले ल्याइदिन मान्दैनन्, ढिला हुँदा धेरैजसो कक्षा छुटेको हुन्छ”-उनले भने।
यातायात उपभोक्ता मञ्चद्वारा यहाँ आयोजित ‘यातायात उपभोक्ताका समस्या र समाधान’ विषयक अन्तक्र्रियामा उनले आफू दृष्टिविहीन भएका कारण बाटो पार गर्दासमेत गाडीले धक्का दिनेलगायतका विभिन्न समस्या भोगेको बताए ।
पहिलो त दृष्टिविहीन देखेपछि गाडीले चढाउन नै नखोज्ने र दोस्रो चढाए पनि चालक र सहचालकले आफूलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको उनको गुनासो छ ।
“सरकारसँग पटक पटक भएका सहमति, अपाङ्गतासम्बन्धी भएका ऐन लागू गर्नुको सट्टा सरकारले हामी दृष्टिविहीन, अपाङ्गता भएका व्यक्तिलाई हेपाहा दृष्टिले हेर्दै आएको छ”(उनले भने ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सार्वजनिक यातायातमा महिलाका लागि छुट्याएको कोटा कम भएको र त्यो पनि पुरुषले नै प्रयोग गर्ने गरेको बताए ।
ज्येष्ठ नागरिक डा एनके थापाले ज्येष्ठ नागरिकका लागि सार्वजनिक यातायातामा छुट दिने विषयलाई देशैभरि लागू गर्नुपर्ने माग गरे ।
मञ्चका अध्यक्ष आनन्द शर्माले यातायात र उपभोक्ताबीच देखिएका समस्या समाधानमा जोड दिए। रासस
प्रतिक्रिया दिनुहोस्