Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


अख्तियारको आदेशअनुसार गाविस सचिव यादव पक्राउ


0
Shares

महोत्तरी, जेठ ९ । सुन्दरपुर तथा फूलकाँहा गाविसका संयुक्त सचिव नागेश्वर यादवलाई प्रहरीले आज पक्राउ गरेको छ ।

बिहान इलाका प्रहरी कार्यालय गौशालाबाट गएको टोलीले गाविस सचिव यादवलाई उनको घर खयरमाराबाट पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले पक्राउ गर्न लिखित आदेश दिएअनुसार गाविस सचिवलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।

पक्राउ परेका यादवलाई आजै आयोगको क्षेत्रीय कार्यालय हेटौंडा पठाइएको छ ।

सुन्दरपुर तथा फूलकाँहा गाविसका संयुक्त सचिवको रुपमा कार्यरत सचिव यादवविरुद्ध विभिन्न समयमा आर्थिक अनियमितता गरेको आरोपसहित उजुरीहरु परेको र ती उजुरीको छानबिनका सिलसिलामा बारम्बार बोलाउँदा समेत सम्पर्कमा नआएपछि प्रहरी लगाई छानबिनको लागि समातिएको आयोगको क्षेत्रीय कार्यालय हेटौँडाका उपसचिव नरेन्द्र भट्टराईले बताए । (रासस)