७ असार २०८२, शनिबार | Sat Jun 21 2025


आफ्नै कपाल कटाएर राप्रपाका वरिष्ठ नेता राणाद्वारा सैलुन उद्घाटन


0
Shares

काठमाडौं, जेठ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय मापदण्डको कपाल काट्ने सैलुन ‘अन्नपूर्ण सैलुन’को उद्घाटन गरेका छन् ।

उदघाटनका अवसरमा उनले आफ्नै कपाल कटाएका थिए ।

उनले मुलुकमा विद्यमान समस्या समाधानका लागि सरकार संवेदनशील नभएको बताए । मधेस आन्दोलनलाई समाधान गर्न आफ्नो पार्टीले मधेसमा दुई प्रदेश बनाउनुपर्ने माग गरेको पनि उनले बताए ।

उनले संविधान कार्यान्वयनका लागि दलबीच समन्वय हुनु जरुरी रहेको औँल्याउँदै तत्काल राष्ट्रिय सरकार गठन हुने सम्भावना भने नरहेको प्रस्ट पारे ।

नेता राणाले सेवाग्राहीको मागअनुसार अत्याधुनिक सेवा सुविधा उपलब्ध गराउन सैलुनका सञ्चालकलाई आग्रह गरे ।

आजदेखि सञ्चालनमा आएको उक्त सैलुनमा फेसियल, हेड मसाज, हात खुट्टाका नङ काट्ने, कपाल रङरोगन गर्नेलगायत सुविधा उपलब्ध गराइएको छ ।

सैलुनमा कपाल काट्ने तथा ब्युटिसियनको क्षेत्रमा उच्च तालिम हासिल गरेका विशेषज्ञले महिला तथा पुरुष दुवैलाई सेवा उपलब्ध गराउनेछन् ।

सैलुनका सञ्चालक विजय ठाकुरले उच्च घराना तथा विदेशीलाई लक्षित गरी सो सैलुन सुरु गरिएको जानकारी दिँदै सेवाग्राहीको मागअनुसार सुविधा उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरे । (रासस)