
लन्डन, जेठ । यौनउत्तेजना बढाउने औषधी ‘भियाग्रा’ को लोकप्रियता बढेसँगै यसको नक्कली उत्पादनले पनि बजार पाउन थालेको छ ।
अघिल्लो वर्ष लन्डनमा बिना लाइसेन्स बेचिएको अवस्थामा कामोत्तेजक औषधीको ठूलो परिमाण बरामद गरिएको थियो । बरामद गरिएको औषधीको मूल्य एक करोड १० लाख पाउन्ड रहेको बताइएको छ ।
अनुमति बिनाको यस्ता औषधीको बजार ब्यापक हुँदै गइरहेको छ । यस्ता औषधी अनलाइनबाटै बिक्री हुने गरेको छ । इन्टरनेटमा यसको मूल्य २/३ पाउन्ड राखिएको छ जसलाई विश्वको जुनसूकै कुनाबाट मानिसले खरिद गर्न सक्छन् ।
भियाग्राको भारतीय संस्करण ‘कामाग्रा’ले पनि यसैगरी बजार लिदैंछ । यो औषधी बेलायतसम्म पुगिसकेको छ । यो औषधी पनि इन्टरनेटमार्फत खरिद–बिक्री भइरहेको छ ।
औषधी नियामक एजेन्सीका अनुसार इन्टरनेटमार्फत खरिद बिक्री हुँदै आएका यस्ता नक्कली भियाग्रामा हानीकारक रसायन पाइएको छ । सीसा र आर्सेनिकजस्ता विषालु रसायन भएको यस्ता औषधीले मानिसलाई गम्भीर असर पार्ने बताइन्छ ।
यस्ता औषधी सानोतिनो गल्लीमा उत्पादन हुने गरेको समेत पाइएको छ । चिकित्सकहरुले भियाग्रा प्रयोगकर्तालाई चिकित्सकको सल्लाहबाट मात्र त्यस्ता औषधी प्रयोग गर्न सुझाव दिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्