१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


हुलाकी राजमार्ग निर्माणमा उदासीनता देखाएको आरोप, नेपालकै लगानीमा बन्नुपर्छ : अमरेश


0
Shares

काठमाडौं, जेठ १० । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माणमा सरकारले उदासीनता देखाएको आरोप लगाएका छन् ।

उनीहरुले राजमार्ग निर्माणका लागि जस्तोसुकै दबाबका कार्यक्रम ल्याउन पछि नपर्ने चेतावनीसमेत दिएका छन् ।

व्यवस्थापिका–संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पर्सापूर्वका तराई–मधेसका सांसदसँग सोमबार गरेको छलफलमा सांसदहरुले हुलाकी राजमार्ग मधेसको मनोविज्ञान बनेको धारणा राखेका छन् ।

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले हुलाकी राजमार्ग नेपालकै लगानीमा बन्नुपर्ने धारणा राखे ।

नेकपा एमालेका सांसद लालबाबु यादवले तराई–मधेसबाट गिटी, बालुवा र ढुंगाको निकासी रोकेर त्यसलाई हुलाकी राजमार्ग निर्माणमा प्रयोग गर्न माग गरे ।

नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र जैसवालले मधेसलाई दीर्घकालीनरुपमा पछाडि पार्ने षडयन्त्रकासाथ आयोजनालाई अगाडि नबढाइएको आरोप लगाए ।

छलफलमा हुलाकी राजमार्ग आयोजनाका निर्देशक बलराम मिश्रले आयोजनाको वर्तमान अवस्था र प्रगति विवरण पेश गरेका थिए ।

हुलाकी राजमार्ग पूर्वको भद्रपुरदेखि पश्चिमको कन्चनपुरसम्म गरी ९ सय ७५ किलोमिटर रहेको छ भने सहायक सडकको लम्बाई ८ सय १७ किलोमिटर छ ।

हालसम्म ६७ किलोमिटर सडकमात्रै कालोपत्रे भएको र बाँकी सडकखन्ड माटेस्तरमा रहेको छ ।

राजमार्गका लागि १ सय ४९ ओटा पुल बनाउनुपर्नेमा ४५ ओटा बनिसकेका छन् ।

निर्माणाधीन पुलको संख्या ५८ रहको छ भने चालु आर्थिक वर्षमा टेन्डर गरिने पुलको संख्या १८ ओटा रहेका छन् ।

२८ ओटा पुलका लागी भने कुनै प्रक्रिया नै सुरु भएको छैन ।