७ असार २०८२, शनिबार | Sat Jun 21 2025


सन्चारमन्त्री राईलाई पत्रकार महासंघको ११ बुँदे ध्यानाकर्षणपत्र, यस्ता छन् माग


0
Shares

काठमाडौं, जेठ १० । नेपाल पत्रकार महासंघले सोमबार सन्चारमन्त्री शेरधन राईलाई उनकै कार्यकक्ष सिंहदरबारमा भेटी नेपाली प्रेस र पत्रकारहरुले भोगिरहेका समस्याहरुबारे ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टको नेतृत्वमा गएको टोलीले सन्चारमन्त्री राईलाई *११ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

महासंघले श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक बृद्धि गर्ने निर्णयको स्वागत् गर्दै मन्त्रिपरिषदले पारित गरेको पारिश्रमिक तत्काल लागू गर्न माग गरेको छ ।

साथै, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको आधारमा सन्चार प्रतिष्ठानलाई पुरस्कृत र दन्डित गर्ने प्रणालीको विकास गर्न पनि महासंघले माग गरेको छ ।

यस्तै, महासंघको संलग्नतामा स्वतन्त्र, स्वायत्त र प्राज्ञिकस्तरबाट व्यवसायिकरुपमा सन्चालन हुनेगरी राष्ट्रिय आमसन्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न पनि महासंघले आग्रह गरेको छ ।

पत्रकार दुर्घटना बिमाको कार्यक्रमलाई आगामी बजेटमा निरन्तरता दिन, निजामती अस्पताल, अन्य सरकारी अस्पताल, शिक्षण अस्पताल र स्वास्थ्य संस्थाहरुबाट पत्रकारको उपचारमा कम्तिमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउने गरी बजेटमा व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ ।

नेपाली मिडियालाई सेवा उद्योगकोरुपमा मान्यता र सुविधा प्रदान गर्न तथा प्राकृतिक विपत्ति, नाकाबन्दी र आमहडताल जस्ता कारणले उत्पन्न संकटलाई सम्बोधन गर्नेगरी रोयल्टी, नवीकरण शुल्कलगायतका करमा छुट दिन पनि महासंघले माग गरेको छ ।

लोककल्याणकारी विज्ञापनको अंक बृद्धि गर्न, सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारद्वारा सन्चालित साना र स्थानीय तहका सन्चारमाध्यमको संरक्षणका लागि विशेष ध्यान दिन पनि महासंघले सन्चारमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

*सच्याइएको । ११ हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्न गएकाले सच्याइएको छ–सम्पादक ।