१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


‘बजेट सुरुको अनुमानभन्दा ठूलो हुने’, कर्मचारीहरुको तलब न्यूनतम् २५ हजार पुर्‍याउन माग


0
Shares

काठमाडौं, जेठ १० । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा.डा.गोविन्द नेपालले आगामी बजेट सुरुको अनुमानभन्दा केही ठूलो आकारको हुने बताएका छन् ।

रिपोर्टर्स् क्लबमा सोमबार आयोजना गरिएको बजेटसम्बन्धी छलफलमा नेपालले बजेटको आकार ठूलो भएपनि बजेट खर्च भने सन्तुलनमा हुनुपर्ने बताएका छन् ।

उनले हाल एकातिर मूल्यबृद्धि बढिरहेको र अर्कोतिर उत्पादन घटिरहेको अवस्थामा राज्यले खर्च विस्तार गरेर उत्पादन बढाउन सहयोग गर्नुपर्ने धारणा राखे ।

योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले अबको बजेट आर्थिकबृद्धि एवं रोजगार सिर्जनामा केन्द्रित हुनुपर्ने बताए ।

उनले बजेटले उच्च प्रतिफल दिने वस्तु उत्पादन बढाउने एवं सामाजिक सुरक्षाको क्षेत्रमा हुने चुहावट रोक्नुपर्ने बताए ।

साथै, अधिकतम् खर्चको वातावरण बनाउने, जथाभावी बजेट नछर्ने एवं दीगो वित्त व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आगामी बजेट लगानीको वातावरण सिर्जना गर्नेखालको हुनुपर्ने बताए ।

उनले आगामी आर्थिक वर्षलाई करमुक्त वर्षकोरुपमा घोषणा गर्नसकेमा विश्वमै सकारात्मक सन्देश जाने पनि बताए ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले हालै गरिएको अध्ययनअनुसार एक परिवारको मासिक खर्च २५ हजार रुपैयाँसम्म पुगेकोले कर्मचारीहरुको तलब पनि न्यूनतम् २५ हजार नै पुर्‍याउनुपर्ने माग गरे ।

कर्मचारी संगठनका प्रतिनिधिहरुले तलब बृद्धि हुँदा कर्मचारीको मनोबलमासमेत बृद्धि भइ उत्पादन एवं सेवा विस्तार हुने भन्दै तलब बृद्धिमा जोड दिएका थिए ।