Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


यातायात व्यवस्था कार्यालय एकान्तकुनामा तोडफोड


0
Shares

काठमाडौं, जेठ १२ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र बागमतीको ललितपुर एकान्तकुनास्थित कार्यालयमा मंगलबार राति तोडफोड भएको छ ।

तोडफोडले भवन नम्बर–१ को सबै सिसा फुटी डेढ लाखको क्षति पुगेको कार्यालय प्रमुख उमेश बस्नेतले राससलाई जानकारी दिए ।

‘तोडफोडले झ्यालका सिसा फुटेका छन्, मंगलबार दिउँसो सेवाग्राहीको फाइल बोकेर राजस्वबाहेक अतिरिक्त पैसा लिइ काम गर्नेलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएपछि कार्यालयमा तोडफोड भएको छ’–उनले भने ।

परिसरले लेखापढी व्यवसायीका नाममा दलाली गरी सेवाग्राहीसँग पैसा असुल्ने २६ जनाको समूहलाई पक्राउ गरेको थियो ।

छानबिनपछि १३ जना निर्दोष पाइएकाले छाडिएको र १३ जनालाई प्रमाणसहित सार्वजनिक मुद्दाको प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।

कार्यालयमा तोडफोड गर्नेको खोजी भइरहेको महानगरीय प्रहरी बिट सातदोबाटोका प्रहरी निरीक्षक श्यामकुमार विष्टले बताए । रासस

फाइल फोटो