७ असार २०८२, शनिबार | Sat Jun 21 2025


४०० बढी सगरमाथाको चुचुरोमा, आरोहण सकियो, एक नेपालीसहित ६ जनाको मृत्यु


0
Shares

काठमाडौं, जेठ १२ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला सम्पूर्ण हिमालको आरोहण सकिएको छ ।

आरोहणको अन्तिम दिन बुधबारसम्म ४०० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको यो मौसममा १०० जनाले सफल आरोहण गरेका छन् ।

विश्वका १० अग्ला हिमालमध्ये नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठओटा हिमाल रहेका छन् ।

वसन्त ऋतुको यस मौसममा गत वैशाख २९ गतेदेखि आरोहण सुरु भएको थियो ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्यांकअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका थिए ।

तीमध्ये सगरमाथा आरोहणका लागिमात्र ३४, अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँचओटा टोली आरोहणका लागि गएका थिए ।

विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले सगरमाथासहितका हिमाल आरोहणका लागि गएका सबै टोली बुधबारबाट फर्कनेक्रममा रहेको राससलाई जानकारी दिए ।

‘वसन्त ऋतुमा सगरमाथामामात्रै ४०० बढीले आरोहण गरेका छन्, कुन देशका कति आरोहीले चढे भन्ने यकिन विवरण आउन अझै एक साता लाग्छ’–उनले भने ।

आठ हजार मिटरमाथिका हिमाल आरोहण सकिएको र केही होचा हिमालको विवरण आइनसकेको विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका ज्ञानेन्द्रकुमार श्रेष्ठले यो मौसमका लागि बुधबारबाट सगरमाथासहितका हिमालको आरोहण सकिएको बताए ।

६ आरोहीको मृत्यु
वसन्त ऋतुको यो मौसममा सगरमाथा आरोहण गर्नेक्रममा एक नेपालीसहित ६ जना आरोहीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक शेर्पा गाइड, तीन भारतीय, एक अस्ट्रेलियन र एक नेदरल्यान्डका आरोही छन् । रासस