Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


सेनाले सामूहिक आवास निर्माण गर्ने


0
Shares

नुवाकोट, जेठ १३ । भूकम्पबाट प्रभावित नुवाकोटमा निर्माण हुने १० सामूहिक आवासमध्ये सात स्थानमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।

तीन स्थानमा भने सहरी तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माण गर्न थालिसकेको छ ।

सदरमुकाम विदुरमा प्रजिअ विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाको श्रीनाथ गण देवीघाटलाई दिने निर्णय गरेको हो ।

सहरी विकास मन्त्रालयमार्फत् निर्माण हुन लागेको सामूहिक आवास निर्माणको जिम्मा समितिले सेनालाई दिने निर्णय गरेको हो ।

ओखरपौवाको कागतीगाउँ, थानसिं गाविसको छहरेबजार आसपास, बेतिनी गाविसको झगरेफाँट दोभान वा राउतबेंसी गाविसको मानेडाँडा, शिखरबेंसी गाविसको ठूलीखेत दुप्चेश्वर जाने बाटो, काहुले गाविसको वडा नम्बर–४ गुम्बुडाँडा, बुधसिं गाविस वडा नम्बर–४ को चन्डी माविको पुरानो परिसर र बसुन्चेत गाविसको मेघाङचौरमा सामूहिक आवास निर्माण गर्न लागिएको हो ।

प्रजिअ पोखरेलका अनुसार जिल्लाका बाँकी तीन स्थानमा सहरी विकास मन्त्रालयअन्तर्गत्को जिल्लास्तरीय कार्यक्रम समन्वय एकाइमार्फत् सामूहिक आवास निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।

सेनाले निर्माण गर्ने सामूहिक आवास भवन निर्माणका लागि आवश्यक जग्गा पहिचानका लागि श्रीनाथ गणसहित भवन डिभिजन कार्यालय र मालपोत कार्यालयको समन्वयमा अवलोकन र जाँच निरीक्षण गर्नेसमेत निर्णय गरिएको छ ।

आउँदो बर्खालाई ध्यानमा राख्दै बैठकले विपद्पूर्व तयारीका लागि गत वर्ष प्राप्त सामग्रीको विवरण तयार पार्ने र आवश्यक पूर्वतयारी गर्नेसमेत निर्णय गरेको छ । रासस

Skip This