
काठमाडौं, जेठ १५ । शनिबार(आज) नवौं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसै अवसरमा आज काठमाडौंको सैन्यमञ्च टुंडिखेलमा भव्य कार्यक्रम गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सबै राजनीतिक दलको सहमतिबाट आफू अघि बढ्न चाहेको बताएका छन् ।
उनले सहमति, सहकार्य र एकताबाट मात्र जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सकिने भन्दै सबै दल एकजुट हुनुको विकल्प नभएको बताए ।
अहिलेको आवश्यकता संविधान कार्यान्वयन भएकोमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनपछि राजनीतिक संक्रमणकालको अन्त्य हुने विश्वास व्यक्त गरे ।
उनले सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवं सुदृढीकरणका लागि प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाली जनताले लामो संघर्षबाट सामन्ती प्रणाली र जन्मसिद्ध श्रेष्ठताका अवैज्ञानिक सिद्धान्तमा आधारित राजतन्त्रको अन्त्य गर्दै सामाजिक न्याय र समानताको मुलस्तम्भको रुपमा गणतन्त्र स्थापित भएको यसलाई ऐतिहाँसिक उपलब्धी मान्नुपर्ने बताए ।
गणतन्त्र दिवस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख ओनसरी घर्तीलगायत विभिन्न राजनीतिक दलका नेता, सांसदहरु, उच्चपदाधिकारी सरिक भए ।
कार्यक्रममा काठमाडौं उपत्यकाका धार्मिक तथा सांस्कृतिक नृत्य, झाँकी, प्रदर्शन गरिएको थियो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि आफ्नो कलाप्रदर्शन गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्ले पनि विभिन्न खेल प्रदर्शन गरेको थियो भने नेपालीको सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस दिवस अंकित झण्डा प्रर्दशन गर्नुको साथै पुष्पवृष्टिसमेत गरिएको थियो ।
२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्रले आजदेखि आठौं वर्ष पूरा गरेको हो । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२÷०६३ सालको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्