८ असार २०८२, आइतबार | Sun Jun 22 2025


दुर्गमका विद्यालय भवन अझै पुनर्निर्माण भएनन् (भिडियो)


0
Shares

-शंकर खनाल, ईमेज
काठमाडौं, जेठ १६ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा परी भग्नावशेषमा परिणत भएका विद्यालयका भवन पुनर्निर्माण नहुँदा दुर्गम क्षेत्रका विद्यालयको पठनपाठन अझै प्रभावित हुँदै आएको छ । सरकारले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण गर्ने आस्वासन दिए पनि दुर्गमका विद्यालयले विदेशी दाताको भर पर्नु परिरहेको छ ।

गत वर्षको भूकम्पका कारण भत्किएका विद्यालय भवनको पुनर्निर्माण हुन नसक्दा दुर्गम क्षेत्रका विद्यालयको पढाई प्रभावित भएको छ । विद्यालय खोल्न स्वीकृति दिएपछि आफ्नो कर्तव्य पुरा भएको ठान्ने सरकारी चालाले दुर्गम क्षेत्रका बालबालिकाको भविष्य अन्धकार बन्दै गएको छ ।

विद्यालय खोल्ने तर, त्यसको अनुगमन नगर्ने सरकारी पाराले दुर्गम क्षेत्रका बालबालिकाको भविष्य अन्योलग्रस्त बन्दै गएको हो । सबैका लागि शिक्षाको नाममा सरकारले शिक्षाको नारा त रटैकै छ तर, यसरी भग्नावशेसमा परिणत विद्यालय बनाउनु पर्छ भन्नेमा छैन सरकार ।

त्यसैको शिकार बनेका छन् काभ्रेको दुर्गम भिमखोरी माम्तीस्थित भिमेश्वर माविका यी अवोध बालबालिका । २०४७ सालमा स्थापना भए पनि यो विद्यालयले दुर्गम हुनुको पीडाबाट मुक्त हुन सकेको छैन । भवन भूकम्पले ध्वस्त बनाइदिएपछि थलिएको यो विद्यालयलाई कुनै सरकारी निकायले वास्ता गरेका छैनन् ।

विद्यालयको भवन निर्माणका लागि सरोकारवालाहरु धेरै पटक काठमाडौं ओहोरदोहोर गरे, शिक्षा मन्त्रालयमा ताकेता गरे । सुनुवाई नभएपछि उनीहरु विदेशी दाताकहाँ पुगे  ।

बालबालिकाको भविष्य नै खतरामा परेपछि फ्रान्सेली संस्था ओं फोन्स दु मोन्द्ले विद्यालय भवन निर्माण गरी दिने भएको हो । एक वर्षको लगातारको प्रयासबाट यसरी विद्यालयको शिलान्यास गर्न पाउँदा निकै हर्षित छन् उनीहरु  ।

भूकम्पले विद्यालय भवन भत्काई दिएसँगै चकनाचुर पारीदिएका यस्ता सयौं बालबालिकाको सपना यो विद्यालयको सिलान्याससँगै साकार हुने भएको छ । विद्यालयमा पढाई नहुने भएपछि बरालिएका विद्यार्थी र चिन्तित बनेका अभिभावकले दुखेसो पोखेपछि पर्यटन व्यवसायी तथा युवा समाजसेवी छेटुप तामाङले विद्यालय निर्माणको लागि चाजोपाँजो मिलाई दिएका हुन् ।