
कविराज घिमिरे –
धनकुटा, जेठ १६ । संरक्षण अभावका कारण धनकुटाको उच्च क्षेत्रका सिमसार लोप हुँदै गएका छन् । पानीको मुख्य स्रोतका रुपमा रहेको सिमसार लोप भएसँगै धनकुटामा खानेपानी तथा सिचाईंको समस्या वर्षेनी बढ्दो छ ।
केही वर्ष अघिसम्म बाह्रै महिना प्रशस्त पानी पाईने धनकुटाको बुधबारे गाविसमा अहिले पानीको समस्या बढ्दै गएको छ । जिल्लाका अन्य गाविस तथा नगरपालिकाभन्दा तुलनात्मकरुपमा बढी पानी पाईने सो क्षेत्रमा रहेका सिमसार सुक्दै गएसँगै पानी अभाव बढेको हो । कहिल्यै पानी नसुक्ने, सधैं पानी जम्ने र रसिलो भूमि भइरहने क्षेत्रमा जग्गा प्लटिङ, वनजंगलको फँडानी र बढ्दो स्काभेटरको प्रयोगका कारण सिमसार क्षेत्र लोप हुँदै गएका हुन् । सिमसार मासिएसँगै बुधबारे क्षेत्रमा सुख्खायाममा पानीको समस्या बढेको स्थानीयले गुनासो गरेका छन् ।
बुधबारेमा जस्तै राजारानी डाँडाबजारलगायत जिल्लाका अधिकांश क्षेत्रका सिमसार मासिने क्रम बढ्दो छ । जसका कारण सुख्खायाममा खानेपानी तथा सिचाईको समस्या विकराल बन्दै गएको छ । पानीको समस्याकै कारण धनकुटामा बसाई सर्ने क्रम बढ्दो छ । त्यस्तै बर्षेनि खेतियोग्य जमिन बाझिने क्रमसमेत बढेको छ । सिमसार क्षेत्र मासिएकै कारण पानीको समस्या बढेका कतिपय स्थानमा भने स्थानीयले ताल बनाउन पहलसमेत गरेका छन् ।
सिमसार क्षेत्र सरक्षण गर्न सकिए पानीको मुहान संरक्षणसँगै बाँध निर्माण गरेर ताल बनाउन सकिने भएकाले पर्यटकीय क्षेत्रको रुपमा विकास हुने स्थानीयको बुझाई छ । त्यसैले गाउँ, ईलाका तथा गाविसस्तरीय गोष्ठीमा सिमसार संरक्षणको प्रशस्तै माग समेत आउने गरेका छन् । तर गाविसमा आउने सीमित बजेटका कारण संरक्षण गर्न समस्या हुने गरेको सम्बन्धित गाविसका सचिवहरु बताउँछन् ।
लोपोन्मुख अवस्थामा पुगेका सिमसार क्षेत्र संरक्षण गर्न सके पानीको समस्या त केही हदसम्म समाधान हुने थियो नै त्यसका साथै पर्यटकलाई आकर्षित गर्ने गतिलो माध्यम समेत बन्ने थियो ।
प्रतिक्रिया दिनुहोस्