
काठमाडौं, जेठ १६ । बौद्ध धर्मको संरक्षण र सम्वर्द्धन गर्दै आएका चिनियाँ लामा सेरप दोर्जेको आज ७९ बर्षको उमेरमा निधन भएको छ ।
नेपालमा बौद्ध धर्मको विकास र स्तुपाहरुको संरक्षणका लागि लामो समयदेखि चिनियाँ लामा राख्ने प्रचलन रहँदै आएको छ ।
नेपालमा बुद्ध धर्मको संरक्षण र सम्वर्द्धन गर्न १६ बर्षदेखि चिनियाँ लामा भएका सेरप दोर्जे लामा विगत एक महिनादेखि बिरामी थिए ।
उनले राजधानीको बौद्ध स्तुपाको संरक्षण र सम्वर्द्धन गर्दै आएका थिए । बौद्ध धर्मको प्रचार र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
१५० वर्षअघि वरिष्ठ चिनियाँ लामा ताई फोसिङ नेपाल घुम्न आएको बेला उनले तिब्बत र नेपालबीच भएको युद्धलाई मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । चिनियाँ लामाले चीन र नेपालको सम्बन्ध सुधारमा सहयोग पुर्याएको भन्दै राणा शासकहरुले उनलाई नमोबुद्ध, स्वयम्भु, बौद्ध स्तुपाको संरक्षण र सम्बर्द्धनको जिम्मा दिएका थिए ।
सोही समयदेखि नेपालमा चिनियाँ लामाहरु बस्ने प्रचलन शुरु भएको हो ।
राजसंस्था रहेको बेला एकजना लामा जीवनभर चिनियाँ लामा रहने चलन थियो । तर अहिले भने गुठीले ५÷५ वर्षमा चिनियाँ लामा छनोट गर्ने गर्दछ । तर चिनियाँ लामाको बशंज भित्रबाटै छनौट गर्ने चलन रहेको छ ।
चिनियाँ लामाले सबै स्तुपा संरक्षण गर्न समस्या भएको भनेपछि उनलाई बौद्ध स्तुपाको मात्रै संरक्षणको जिम्मा दिइएको छ । स्तुपामा पुजा पाठ गर्ने, परम्परागत संस्कृति संरक्षण गर्ने, बुद्धले दिएको ज्ञानको प्रचार प्रसार गर्ने, बाहिरी देशबाट आएका वरिष्ठ पाहुनाहरुको स्वागत गर्ने र बौद्ध धर्मबारे जानकारी दिने काम चिनियाँ लामाले गर्ने गर्दछन् । चिनियाँ लामा सेरप दोर्जे लामाको योगदान पनि अतुलनीय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्