तनहुँ, जेठ १७ । जिल्लाको घाँसीकुवा–६ रामथुम्कीस्थित चुनखानी निकाल्न प्रयोग गरिएको दुई एस्काभेटरमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् ।
आगलागीबाट दुवै एस्काभेटर जलेर पूर्णरुपमा क्षति भएको सोमबार बिहान घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका असई सुरेश सुवेदीले जानकारी दिए ।
‘उक्त एस्काभेटरमा रहेका फलामका सामानबाहेक अन्य प्लास्टिकका सामान सबै जलेका छन्,’ असई सुवेदीले भने, ‘घटनामा संलग्न रहेका व्यक्तिको खोजी कार्यका लागि अनुसन्धान भइरहेको छ ।’
उक्त एस्काभेटर पर्सा जिल्ला निवासी ललित सरोभोगीको रहेको वुझिएको छ । घटनामा संलग्न व्यक्तिलाई अहिलेसम्म पक्राउ गर्न नसकिएको र खोजी कार्य तीव्र भइरहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनास्थल सदरमुकाम दमौलीबाट करिब १३ किलोमिटर पूर्व दिशामा रहेको भए पनि एकान्त वन र मानव बस्ती पातलो भएका कारण समयमा प्रहरीलाई खबर नगरिदिँदा बढी क्षति भएको हो । (रासस)





प्रतिक्रिया दिनुहोस्