
काठमाडौं, जेठ २२ । त्रिमूर्ति निकेतनले नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा पुर्याइएको योगदानलाई ध्यानमा राखेर द्विदेशीय सम्मेलनको आयोजना गर्ने भएको छ ।
नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिकाू विषयक तीन दिने बृहत् प्राज्ञिक सम्मेलन काठमाडौंमा हुने भएको छ ।
प्रथम पटक गर्न लागिएको यस प्रकारको सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयहरूमा प्राध्यापन गर्ने ३५० जना जति प्राज्ञिक व्यक्तित्वको सहभागिता हुने भएको छ ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको विशेष बैठकले त्रिमूर्ति निकेतनका मानार्थ सदस्य तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा।महादेव अवस्थीलाई यस सम्मेलनका लागि अध्यक्षमा मनोनीत गरेको छ ।
निकेतनले त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा।लक्ष्मणप्रसाद गौतम र उपप्राध्यापक रजनी ढकाललाई उपाध्यक्षमा मनोनीत गरेको छ भने त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्मेलनमा पदेन सदस्यसचिवका रूपमा काम गर्नेछन् ।
नेपालका ९ ओटा विश्वविद्यालयमध्ये त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूर पश्चिमाञ्चल विश्वविद्यालय गरेर जम्मा ६ ओटा विश्वविद्यालयमा नेपाली भाषा पढाइने गरिएको छ ।
ती विश्वविद्यालय र ती अन्तर्गत देशभरिमा स्नातकोत्तर स्तरमा १०४ ओटा र स्नातक स्तरमा झन्नै ८०० ओटा जति क्याम्पसमा नेपाली भाषा साहित्य पढाइने गरिएको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा मात्र नेपाली भाषा साहित्यमा विद्यावारिधि गराइन्छ । नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो र यसको स्थापना संवत् २०१६ सालमा भएको थियो ।
यसै गरी भारतमा २०० ओटा विश्वविद्यालयमध्ये ९ ओटा विश्वविद्यालयमा नेपाली भाषा साहित्यको अध्यापन गराइन्छ । जसमध्ये काशी हिन्दू विश्वविद्यालय, उत्तर बङ्ग विश्वविद्यालय र सिक्किम विश्वविद्यालयमा नेपाली भाषा साहित्य विषयमा स्नातकोत्तरसम्म पढाइने गरिएको छ । यी विश्वविद्यालयहरूमा नेपाली भाषा साहित्यमा विद्यावारिधि पनि गराइन्छ । गौहाटी विश्वविद्यालयमा दूरशिक्षाका माध्यमबाट स्नातकोत्तर अध्यापन गराइन्छ ।
सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, मणिपुर विश्वविद्यालय, नेहु ९मेघालय० विश्वविद्यालय, आसाम विश्वविद्यालय, डिप्रुगढ विश्वविद्यालयमा स्नातकतहसम्म नेपाली भाषा साहित्यको अध्यापन गराइन्छ ।
भारतका ८ ओटा विश्वविद्यालयअन्तर्गत ७० ओटा कलेजहरूमा नेपाली भाषा साहित्यबारे स्नातकतहसम्म पढाइने गरिएको छ । काशी हिन्दू विश्वविद्यालय अन्तर्गत कुनै कलेज छैनन् ।
भारतमा ११० वर्षअघि नेपाली भाषा पढाउन थालिएको थियो । सर्वप्रथम सन् १९०६ देखि लखनऊ विश्वविद्यालयमा नेपाली विषय पढाइन थालिएको थियो । त्यसै गरेर पटना विश्वविद्यालयमा सन् १९१३ र कलकत्ता विश्वविद्यालयमा सन् १९२० देखि नेपाली भाषा साहित्य पढाउन थालिएको थियो । अहिले यी तीनै विश्वविद्यालयहरुमा नेपाली भाषाको अध्यापन गराइदैन । यति हुँदाहुँदै पनि कलकत्ता विश्वविद्यालयमा भने नेपाली पढाउने प्राध्यापकको अहिले पनि दरबन्दी कायमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्