९ असार २०८२, सोमबार | Mon Jun 23 2025


प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता


0
Shares

काठमाडौं, जेठ २४ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल जेठ २० देखि २१ गतेसम्म अमेरिकामा संचालन भएको संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुख सम्मेलनमा सहभागी भई आइतबार राति स्वदेश फिर्ता भएका छन् ।

प्रहरी महानिरीक्षक अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै प्रहरी महानिरीक्षक अर्यालले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न र समाजमा शान्ति सुव्यवस्था कायम गर्न परिचालित युएन प्रहरीलाई आगामी दिनमा थप मुलुकहरुमा आवश्यक परेको खण्डमा प्रभावकारिताकासाथ परिचालन गर्ने निर्णय उक्त कार्यक्रममा गरिएको बताए ।

विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा संयुक्त राष्ट्र संघले शान्ति स्थापनार्थ परिचालन गरेको युएन प्रहरीलाई अझ बढीप्रभावकारी कसरी बनाउन सकिन्छ, त्यसका चुनौतीहरु के छन्, समाधान गर्न के गर्न सकिन्छ भन्ने बिषयमा बृहद छलफल भएको उनले बताए ।

विश्वका १ सय १० देशका प्रहरी प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रममा आपसी सूचनाहरुको समन्वय गर्ने, सूचना आदान प्रदान गर्ने, समस्या र त्यसका समाधानका बिषयमा छलफल गरी निष्कर्ष निकाल्ने उद्देश्यका खातिर कार्यक्रमको आयोजना गरिएको र सबै प्रतिनिधिहरुबीच बृहद अन्तरक्रियाका साथ सम्मेलन समाप्त भएको उनले उल्लेख गरे ।

साथै शान्ति स्थापनार्थ गरिएका कार्यहरुका प्रभावकारिता कसरी बढाउन सकिन्छ, द्वन्द्वग्रस्त मुलुकमा महिला तथा बालबालिकाहरुलाई विभेद हटाउन कसरी सकिन्छ, त्यसमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन कसरी सकिन्छ जस्ता व्यावसायिक बिषयमा समेत छलफल केन्द्रित रहेको उनले जानकारी दिए ।

नेपालको तर्फबाट मन्तव्य राख्नेक्रममा शान्ति स्थापनामा बिश्वका सम्पूर्ण मुलुकले गर्ने योगदानमा नेपालको स्थान छैठौं रहेको, संयुक्त राष्ट्र संघमा नेपालको बुहद लगानी रहेको सन्दर्भ राखिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले संयुक्त राष्ट्रसंघमा प्रहरी अधिकृत तथा जवानहरुको संख्यात्मकमात्र होइन, पदीय हिसाबले पनि उच्च व्यवस्थापकीय पदहरुमा प्रतिनिधित्व हुनेपर्ने कुरा सम्बोधनका क्रममा आफूले उल्लेख गरेको बताए ।

उक्त कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक अर्याल जेठ १६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।