
अर्घाखाँची, जेठ २४ । अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले ‘संसारकै सबैभन्दा सानो’ अन्डा पारेको छ । सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ ।
सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गरेका छन् ।
उनले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरिसकेको पनि बताएका छन् ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अहिलेसम्म अन्डाको नाप २.१ सेन्टिमिटर रहेको छ ।
सन्धिखर्कस्थित शान्ति बगैंचाका हरिले आफ्नो कुखुराले उक्त नापभन्दा सानो अन्डा पारेको बताए । उनको कुखुराले पारेको अन्डाको नाप १.८५ सेन्टिमिटर रहेको छ ।
हरिले जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीमार्फत् गिनिज बुकमा रेकर्डका लागि पहल थालेको बताए ।
लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा दर्ताका लागि पहल गर्न पत्र पठाइसकिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. रामनारायण मण्डलले बताए ।
विश्वमा अहिलेसम्म कुखुराको सबैभन्दा सानो अन्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ ।
९ अगस्ट सन् २०११ मा मापन गरिएको उक्त अन्डाको नाप ०.८२६८ इन्च अर्थात् २.१ सेन्टिमिटर रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्