
खोटाङ, जेठ २६ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकारले चीन र भारतसँगको सम्बन्धमा खलबल ल्याएका कारण राष्ट्रियता खतरामा परेको बताएका छन् ।
नेपाल तरुण दल खोटाङको चौथो अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीले छिमेकी देशसँगको कायम सम्बन्धमा सन्तुलन बिगारेका कारण राष्ट्रियता खतरामा परेको दाबी गरे ।
खतरामा परेको राष्ट्रियताको बचाउ कांग्रेसबाटमात्र सम्भव रहेको महामन्त्री कोइरालाको भनाइ थियो ।
महामन्त्री कोइरालाले नयाँ संविधान राम्रो भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरे ।
कोइरालाले संविधानमा सबै विषय उल्लेख भएपनि आर्थिक समावेशीकरणको सिद्धान्तलाई नसमेटेको बताए ।
महामन्त्री कोइरालाले ‘गुट’ले पार्टी र स्वयं व्यक्तिलाई सिध्याउने भएकाले ‘गुट’को राजनीति नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
उनले पार्टी सभापति शेरबहादुर देउवालाई अब समूहको आवश्यकता नरहेको उल्लेख गरे ।
‘अब शेरबहादुरलाई किन समूह चाहियो, उहाँले पार्टीलाई एक बनाएर नेतृत्व सन्ततिलाई हस्तान्तरण गर्नुपर्छ’–उनले भने–‘गुटले पार्टीलाई सिध्याउँछ, खबरदार तपाइँ पनि गुटबाट नबित्नुस् ।’
केन्द्रीय सदस्य बलबहादुर केसीले संविधान कार्यान्वयनका लागि सहमतिको आवश्यकता औंल्याए ।
यस्तै, सांसद रामहरि खतिवडाले वर्ष दिन बित्दासमेत भूकम्पपीडितलाई राहत दिन नसकेको भन्दै सरकारको आलोचना गरे ।
वर्तमान सरकार भाषण गर्नेमात्र भएकाले वर्तमान सरकारबाट संविधान कार्यान्वयन सम्भव नभएको खतिवडाको भनाइ थियो । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्