
बनेपा, जेठ २७ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा विहीबार बनेपाबाट प्रहरीले १० जनालाई गिरफ्तार गरेको छ ।
बन्द गराउँदै हिँडेका चन्द नेतृत्वको बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य पवित्रा फुयाँलसहित १० जनालाई बनेपाको चारदोबाटोबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
पक्राउ पर्नेमा सुन्तली लामा, लालबहादुर विक, श्याम श्रेष्ठ, रमेश नेपाली, नकुल परियार, आस्मान तामाङ, राकेश तामाङ, विक्रम तामाङ, र बुद तामाङ रहेका छन् । उनीहरु अधिकांश जिल्ला तथा नगरस्तरका कार्यकर्ता हुन् ।
प्रहरीले बुधबार बेलुका मसाल जुलुल निकाल्ने तयारी गरिरहेको अवस्थामा पनि पनौतीका अलिल रायमाझीलाई गिरफ्तार गरेको थियो ।
यसैबीच, विहीबार भएको बन्दको प्रभाव बनेपा र आसपासका क्षेत्रमा देखिएको छ ।
बन्दका कारण सवारी–साधन सन्चालनमा नआएपनि फाटफूटरुपमा केही पसल खुलेका छन ।
चन्द नेतृत्वको माओवादीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्द आह्वान गरेको हो । रासस
प्रतिक्रिया दिनुहोस्