१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


संविधान जारीपछि राजनीतिक लडाइँ समाप्त : गृहमन्त्री


0
Shares

नेपालगन्ज, जेठ २७ । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा विहीबारदेखि इलाका प्रशासन कार्यालय सन्चालनमा आएको छ ।

इलाका प्रशासन कार्यालय सन्चालनमा आएपछि कोहलपुर नपा र आसपासका सात गाविसका नागरिक नागरिकता, राहदानीलगायत प्रशासनिक कामका लागि नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यताकोसमेत अन्त्य भएको छ ।

कोहलपुर क्षेत्रअन्तर्गत् महादेवपुरी, चिसापानी, कचनापुर, नौबस्ता, खासकुस्मा, वनकटुवा र शमशेरगन्ज गाविसका करिब दुई लाख मानिस इलाका प्रशासन कार्यालयको सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।

कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको भवनमा स्थापना गरिएको सो इलाका प्रशासन कार्यालयको गृहमन्त्री शक्तिबहादुर बस्नेतले विहीबार उद्घाटन गर्दै नागरिकको घरदैलोमा सेवा उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकताको विषय भएको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको स्थानीय संरचना गाउँ तहसम्म विस्तार गर्नेतर्फ सरकार क्रियाशील रहेको पनि बताए ।

संविधान जारी भएपछि मुलुकको राजनीतिक लडाइँ समाप्त भएको बताउँदै गृहमन्त्री बस्नेतले संविधानले कसैलाई पनि विभेद नगरेको स्पस्ट पारे ।

उनले भने–‘सरकारले बजेटमार्फत् ल्याएको नीति तथा कार्यक्रम जनमुखी र विकासमुखी छ । यसमा कसैले रुवाबासी गर्नुपर्ने आवश्यकता छैन ।’

सो इलाका प्रशासन कार्यालयका लागि हाल एक शाखा अधिकृत, दुईजना नायब सुब्बा, एक सहलेखापाल, एक कम्प्युटर सहायक र दुईजना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । रासस

फाइल फोटो