Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


हिन्दू राष्ट्रका लागि आयोजना हुने सम्मेलनलाई प्रधानमन्त्रीबाट सहयोग, राष्ट्रपतिबाट भोज !


0
Shares

काठमाडौं, जेठ २८ । नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्न दबाब दिने उद्देश्यले नेपालमा तीन दिने ‘अन्तर्राष्ट्रिय विश्व हिन्दू महासम्मेलन’ हुने भएको छ ।

सम्मेलनमा करिब एक सय मुलुकका तीन हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । आगामी अक्टोबर २० देखि २२ सम्म राजधानीमा हुने सम्मेलनका लागि सरकारले २० लाख रुपैयाँ सहयोग गरेको विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय उपाध्यक्ष अर्जुनप्रसाद बास्तोलाले जनाएका छन् ।

भारतको गोरखपुर पुगेर भारतीय संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्रीजीको सचिवालयले २० लाख रुपैयाँ सहयोग गरेको छ ।’

बास्तोलालाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुलाई सम्मेलनको दोस्रो दिन राष्ट्रपति विद्या भण्डारीले रात्रिभोज खुवाउने छिन् ।

विश्व हिन्दू महासंघको आयोजनामा हुने सो सम्मेलनको सहआयोजक भारतीय हिन्दुवादी संगठन रहने जनाइएको छ । सम्मेलनमा नेपाललाई पुनः हिन्दूराष्ट्र बनाउन र भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि आवश्यक पहल गर्न छलफल हुने बास्तोलाको भनाई छ ।

हिन्दू धर्म त्याग गरी अन्य धर्म अपनाएकाहरुलाई पुनः हिन्दू धर्ममै फर्काउने विषयमा पनि सम्मेलनमा चर्चा हुने जनाइएको छ । (एजेन्सी)