
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, जेठ २८ । पाँचथरको लिम्बा गाविसको एक विद्यालयका प्रधानाध्यापकले एक शिक्षकको सञ्चयकोषमा जम्मा हुने रकम हिनामिना गरेको खुलासा भएको छ ।
लिम्बा पञ्चेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक सूर्यमान ग्यावाले सोही विद्यालयमा कार्यरत् अशक्त शिक्षक विद्यानन्द यादवको सञ्चयकोषको चार लाख रुपैयाँ हिनामिना गरेका हुन् ।
सञ्चयकोषमा जम्मा भएको रकम निकासा माग्न विराटनगरस्थित सञ्चयकोषको कार्यालयमा जाँदा त्यहाँ केही रेकर्ड नभेटिएपछि खोजी गर्नेक्रममा प्रधानाध्यापकले नै पैसा जम्मा नगरेको खुल्न आएको हो ।
जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक सालिग्राम काफ्लेले वैशाखभित्र ग्यावाबाट साँवा–ब्याज भराइदिने भनेपनि अहिलेसम्म आफूले एक रुपैयाँ पनि नपाएको यादवले बताए ।
रकम फिर्ता गर्न दुईपटक पत्राचार गरेपनि प्रधानाध्यापकले बेवास्ता गरेकाले उनलाई विभागीय कारबाही गर्ने तयारी गरेको जिल्ला शिक्षा अधिकारी राजकुमार विकले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्