
काठमाडौं, जेठ २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधानले सबै जात, धर्म र संस्कृतिको संरक्षण गरेको बताएकी छन् ।
सुलक्षण कीर्ति विहार चोभारमा शनिबार बुद्ध दर्शनमा पीएचडी गर्ने पहिलो बौद्ध भिक्षुणी अनुजा गुरुमालाई सम्मान गर्न गरिएको कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधानले कसैलाई काखा र पाखा नगरेको बताएकी हुन् ।
उनले बौद्धधर्म–दर्शनको संरक्षण गर्नुपर्ने भन्दै बौद्धदर्शनको अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिइन् ।
बुद्धका उपदेशको सान्दर्भिकता उत्तिकै रहेकाले विश्वमाझ पुर्याउनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति क्षेत्रकोरुपमा विकास गर्दै पर्यटक आकर्षित गर्न सकिने बताइन् ।
उनले नयाँ संविधान कार्यान्वयनमा सबै एकजुट हुनुपर्ने पनि बताइन् ।
कार्यक्रममा पर्यटनमन्त्री आनन्द पोखरेलले अहिंसाको आन्दोलन लुम्बिनीबाट सुरु भएको भन्दै यसको विशेष महत्व रहेकोे बताए ।
उनले नेपाललाई बौद्धधर्मको मुख्य केन्द्र बनाएर पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको बताए ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले भिक्षुणी अनुजालाई बौद्धधर्मको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान प्रदान गरिन् ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्