Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


रुकुम यातायातको यात्रुबसमा ढुंगामुढा, हवल्दारसहित तीनजना घाइते


0
Shares

सल्यान, जेठ ३१ । रुकुम यातायात प्रालिको डिलक्स बसमा तोडफोड हुँदा दुई यात्रुसहित तीनजना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको ना५ख ७२४१ नम्बरको डिलक्स बसमा सल्यान–रुकुम यातायात समितिका कर्मचारीले सोमबार बिहान ६ बजे जिल्लाको श्रीनगरमा तोडफोड गरेका हुन् ।

बसमा यात्रु राख्ने विषयलाई लिएर सल्यान–रुकुम यातायात समितिका कर्मचारीको समूहले यात्रुसहितको बसमा ढुंगामुढा गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी हबलदार वीरेन्द्रबहादुर कडायतसहित तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते यात्रुको उपचार भइरहेको छ । तोडफोडमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।

यसै विषयलाई लिएर सोमबार नै सर्वपक्षीय छलफल आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए । रासस