Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


नयाँ शक्तिको बन्दसत्रमा तीन प्रतिवेदन पेस


0
Shares

काठमाडौं, जेठ ३१ । नयाँ शक्ति नेपालको पार्टी घोषणा भेलाअन्तर्गत् जारी बन्दसत्रमा तीन प्रतिवेदन पेस भएको छ ।

सोमबार प्रज्ञाभवन कमलादीमा सुरु बन्दसत्रमा संयोजक डा. बाबुराम भट्टराईले ‘नयाँ शक्तिका आधार तत्वहरु’, सचिवालय सदस्य देवेन्द्र पौडेलले ‘सांगठनिक सिद्धान्त र विधान’ र अर्का सचिवालय सदस्य रामेश्वर खनालले ‘विकास र समृद्धिको खाका’ विषयक प्रतिवेदन पेस गरेको पार्टीका प्रवक्ता खिमलाल देवकोटाले राससलाई जानकारी दिए ।

प्रतिवेदन पेस गरिएपछि तीनओटै विषयमा छलफलका लागि प्रतिनिधिलाई १२ समूहमा विभाजन गरिएको छ ।

सोमबार प्रतिनिधिले छलफल गरी प्राप्त भएका सुझावका आधारमा मंगलबार प्रतिवेदनलाई अन्तिमरुप दिने कार्यक्रम छ ।

शनिबार संघीय जनमुक्ति पार्टी छोडी नयाँ शक्तिमा प्रवेश गरेका परशुराम तामाङले पनि सोमबारको बन्दसत्रमा आफ्नो विचार राखे ।

बन्दसत्रमा ७५ जिल्ला संयोजक, ६३ जिल्ला काठमाडौं सम्पर्क समितिका संयोजक, २४० निर्वाचन क्षेत्र संयोजक, ५०० सदस्य बराबर एक, एक हजार सदस्य बराबर दुई र एक हजारभन्दा बढी सदस्यबाट तीन प्रतिनिधिकोदरले सहभागिता रहेको पार्टीनिकटको नेपाल प्रेस सोसाइटीका संयोजक रुद्र भट्टले बताए ।

सातै प्रदेश सचिवालयका सदस्य, पार्टीको आंगिक संगठन र पेसागत संगठन एवं भारत, कोरिया, अस्ट्रेलिया, दुबई, अमेरिका, मलेसिया, पोर्चुगल, बेलायत, फ्रान्सलगायत २४ देशका प्रवास समितिका गरी एक हजार ५०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको बन्दसत्रमा सहभागिता छ ।

आइतबारदेखि राजधानीमा जारी भेला मंगलबार सकिने सो पार्टीले जनाएको छ । रासस