११ असार २०८२, बुधबार | Wed Jun 25 2025


हिमनदीमा बाढी आएपछि छुकुङबासी रातभर जागा


0
Shares

सोलखुम्बु, जेठ ३२ । ल्होत्से हिमालको हिमनदीमा बाढी आउँदा बस्ती छाडेर गएका खुम्जुङका छुकुङबासी घर फर्किएका छन् ।

सोमबार साँझपख आएको बाढीले हिमनदीको उच्चजोखिममा रहेको खुम्जुङ गाविसमा पर्ने छुकुङ गाउँका बासिन्दामा त्रास उत्पन्न भएको थियो र उनीहरु राति बस्ती छाडेर भागेका थिए ।

गाउँमाथि नै रहेको ल्होत्से हिमालको हिमतालबाट अकस्मात् ठूलो बाढी आएपछि भागेर डाँडामा गइ रातभर जागै बसेको स्थानीयबासी लोप्साङ शेर्पाले बताए ।

गाउँको दुबैतर्फ उर्लिएर आएको बाढीले यसअघि पनि पटक–पटक कटान गर्दै आएको र गाउँ उच्चजोखिममा रहेको खबर सन्चारमाध्यममा आउने गरेको थियो ।

गाउँको छेवैबाट बग्ने हिमनदीमा यसरी बाढी आएको भूकम्पपछि यो दोस्रोपटक हो । सोमबार साँझ आएको बाढी केही घन्टापछि सुकेर नदी सतह पूर्ववत्रुपमा आएको उनले बताए ।

हिमालको फेदमा रहेको स–साना हिमपोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयबासीको अनुमान छ ।

गतवर्ष पनि ल्होत्से हिमालकै हिमतालबाट बगेर आएको पानीले गाउँमा क्षति पुर्‍याएको थियो ।

उच्चजोखिमपूर्ण भनिएको इम्जा हिमतालनजिकै रहेको यस गाउँमा इम्जाको डर नभएपनि यस्ता स–साना हिमपोखरीको धेरै डर भएको गाउँलेहरु बताउँछन् ।

सोमबार आएको बाढी पोखरी फुटेर नभइ हिमनदीमुनितिर जमेर बसेको पानी भएको हिमतालका ज्ञाता डा. धनञ्जय रेग्मीले बताए ।

यसअघि आएको बाढीले त्यहाँको पुल भत्काएका थिए । अहिलेसम्म पुल निर्माण र गाउँको संरक्षणमा सरकारको ध्यान पुग्न सकेको छैन ।

पर्यटकीय गाउँ छुकुङमा १० परिवारका करिब ५० सदस्य बस्ने गर्दछन् । आरोहणका लागि चर्चित आइल्यान्ड पिक पनि सोही क्षेत्रमा पर्छ । रासस  

फाइल फोटो