
काठमाडौं, असार १ । बाबुराम भट्टराई नेतृत्वमा घोषित ‘नयाँ शक्ति नेपाल’ ले ‘समाजवादउन्मुख वाम लोकतान्त्रिक’ सिद्धान्त अवलम्वन गर्ने भएको छ ।
पार्टी घोषणापछि राजधानीमा चलेको दुई दिने छलफलसत्रले पार्टीको लाइन तय गरेको हो ।
फरक–फरक व्यक्तिबाट आएका दृष्टिकोण समेट्न ‘समाजवादउन्मुख वाम लोकतान्त्रिक’ सिद्धान्त अवलम्वन गर्नु परेको संयोजक भट्टराईले बताए । वामपन्थ र लोकतन्त्र परस्पर गाँसिएका विषय भएको उनको भनाइ छ ।
‘बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादका सकारात्मक पक्ष ग्रहण गर्ने, कम्युनिज्मभित्रका पनि राम्रा कुरा लिएर अघि बढ्ने हो,’ छलफलसत्र समापनमा कार्यकर्तालाई आश्वस्त पार्दै भट्टराईले भने ।
उनले अन्य पार्टीसँग दुस्मनी नलिने जनाउँदै देशलाई २५ वर्षमा समृद्ध बनाउने योजना सफल पार्न नयाँ आधारमा नयाँ सम्बन्ध बनाएर अघि बढ्ने दाबी गरे । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्