Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


विदेशीसँग विवाहपछि जन्मेका सन्तानलाई अधिकार दिन निर्देशन


0
Shares

काठमाडौं, असार १ । नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरी जन्मेका सन्तानलाई नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेका अधिकार सहजरुपमा उपलब्ध गराउन व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बुधबारको बैठकमा विशेषतः नेपाली महिलाले विदेशी पुरुषसँग बिहेगरेपछि जन्मिएका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न केही व्यवहारिक समस्या रहेको विषयमा छलफल भएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुंगानाले नेपाली महिलाले विदेशी पुरुषसँग बिहे गरेमा श्रीमान् नेपालमा लगातार १५ वर्ष बसेर आफ्नो मुलुकको नागरिकता त्यागेको अवस्थामा नेपाली नागरिकता पाउने व्यवस्था रहेको जानकारी गराए ।

उनीहरुबाट जन्मिएका सन्तानले बाबुको देशको नागरिकता लिन नचाहेकोमा १६ वर्ष पुगेपछि सहजै नेपाली नागरिकता पाउने व्यवस्था कानुनमा रहेको उनले बताए ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नागरिकताको विषय राष्ट्रिय सुरक्षा र राष्ट्रहितसँगसमेत जोडिएको हुनाले यसलाई सहजरुपमा लिन नहुने टिप्पणी गरे ।

गृह मन्त्रालयका सहसचिव विनोद रेग्मीले नयाँ संविधानअनुसार नागरिकताको व्यवस्था थप स्पस्ट पार्नेसम्बन्धी प्रस्ताव गृहले तयार पारेर कानुन मन्त्रालयमा पुगेको जानकारी दिए ।

बैठकमा सांसदले नेपाली पुरुषले विदेशी महिला बिहे गरेमा अर्को दिन ती विदेशी महिलाले नागरिकता पाइहाल्ने तर नेपाली महिलाले बिहे गरेमा पुरुषले १५ वर्ष कुर्नुपर्ने प्रावधान विभेदकारी रहेको टिप्पणी गरेका थिए ।

उनीहरुले बिहे गरेर विदेशबाट आएकी महिलाले अंगीकृत नागरिकता लिएको अर्को दिनदेखि सांसददेखि उपप्रधानमन्त्रीसम्म बन्न पाउने व्यवस्थामा सुधार गर्दै त्यहाँ पुग्न केही वर्षको अवधिको सीमा राख्नुपर्ने सुझाव दिए । रासस  

Skip This